त्रासकै बीच अस्पतालमा ओपिडी सुरु, छैन सामाजिक दुरी

समाधान संवाददाता २०७७ जेठ १ गते ६:३०

ईश्वर देवकाेटा
पोखरा, १ जेठ

कोरोना महामारीको त्रासकै बीच अस्पतालहरुमा बहिरंग (ओपिडी) सेवा सुरु भएको छ । लकडाउन जारी भएयता बन्द ओपिडी सेवा अस्पतालहरुले सरकारकै निर्देशनमा ४९ औं दिनपछि सञ्चालनमा आएका हुन् । तर पछिल्ला दिन नेपालमा संक्रमण दर उच्च देखिइरहेकै बेलामा अस्पतालमा ओपिडी सेवा सञ्चालनमा आउँदा झन् त्रास उत्पन्न भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा लिन बिरामीहरुको बिहानैदेखि भिड लाग्न थालेको छ । सोमबारदेखि अस्पतालले सेवा थाल्दा सोही दिन सय हाराहारी बिरामीलाई जाँचेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

सरकारले सामाजिक दुरी कायम गरेर उच्च सुरक्षा सावधानीका साथ सेवा सञ्चालन गर्न भने पनि अस्पतालमा त्यस्तो प्रबन्ध देखिँदैन । टिकट काट्न भेला भएका बिरामीको दुरी पालना नहुँदा अस्पतालबाटै कोरोना संक्रमणको डर छ । अस्पतालमा आएका सेवाग्राहीलाई सामाजिक दुरी पालना गर्न आग्रह गरिएको तर उनीहरुले नमानेको निर्देशक डा. आचार्यले बताए ।

पत्रकारहरुसहितका स्वयंसेवक खटाई सम्झाउन आग्रह गर्ने बताए । ‘पत्रकार ज्यूहरुलाई नि बोलाउ नि । सबैलाई स्वयंसेवा गर्न आह्वान गर्ने भन्ने भको छ,’ अस्पतालमा सामान्य सावधानी पनि किन अपनाउन सकिएन भन्ने प्रश्नमा उनले झर्को मान्दै भने, ‘मान्छे मान्दैनन् । यो सबैको समस्या हो नि हैन ? हाम्रा कर्मचारी पनि हुनी अनि सबैतिरबाट बोलाएर भन्नी कुरो भइरहेको छ । आह्वान गर्न लागिराखेका छौं ।’

Advertisement

सामान्य सुरक्षा सावधानीका लागि सामाजिक दुरी पालना गर्न अन्य कुनै सरल व्यवस्था गर्नतर्फ ध्यान दिन सकिँदैन ? भन्ने प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘अरु के हुनुपथ्र्यो र भन्नुस् त ? गर्न पर्ने हामीले गरिराखेका छौं । कमी छ भने भन्नु प¥यो । अरुको लागि स्वयंसेवक बोलाउने हो ।’

मंगलबार ओपिडी सेवा लिनेको संख्या अझ थपिएको छ । निर्देशक डा आचार्यका अनुसार २ सय ९६ बिरामीलाई जाँचेको जानकारी दिए । लकडाउन अवधिमा पनि अस्पतालमा इमरजेन्सी सेवा यथावत् सञ्चालनमा थियो । प्रसूति सेवा, डायग्नोसिस गर्नुपर्ने बिरामीलाई सेवा दिइएको थियो । सामान्य अवस्थामा उक्त अस्पतालमा सरदर हजार बढी बिरामीले उपचार पाएका थिए ।

पत्रकारलाई बोलाएर सम्झाउन लगाउँछु: डा अर्जुन आचार्य

पत्रकार ज्यूहरुलाई नि बोलाउनी । सबैलाई स्वयंसेवा गर्न आह्वान गर्ने भन्ने भको छ । मान्छे मान्दैनन् । यो सबैको समस्या हो नि हैन ?

हाम्रा कर्मचारी पनि हुनी अनि सबैतिरबाट बोलाएर भन्नी (सम्झाइबुझाइ गर्ने) कुरो भइरहेको छ ।आह्वान गर्न लागिराखेका छौं । गर्न पर्ने हामीले गरिराखेका छौं । कमी छ भने भन्नु पर्‍यो । अरुका लागि स्वयंसेवक बोलाउने हो ।

मनिपालमा सावधानी

पोखराको फूलबारीमा सञ्चालित निजी स्वास्थ्य संस्था मनिपाल शिक्षण अस्पतालले ओपिडी सेवा सञ्चालनमा सावधानी अपनाउँदै आएको छ । कोभिड र फिभर क्लिनिक छुट्टाछुट्टै सञ्चालन गर्दै आइरहेको अस्पतालले १ साताअघिदेखि ओपिडी सञ्चालनमा ल्याएको हो ।

‘बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म हाफ सिफ्टमा ओपिडी सञ्चालनमा ल्याएका छौं,’ अस्पतालका डाइरेक्टर डा सूर्या चौधरीले भने, ‘सरदर ३ सयको संख्यामा बिरामी जाँची रहेका छौं ।’

ओपिडीमा उपचार गर्नैपर्ने बिरामीलाई टिकट काटेर जाँचेको उनले बताए । अस्पतालले टिकट काउन्टरमा भिड नियन्त्रण र सामाजिक दुरी पालना गर्न कुर्सीहरुको प्रयोग गरेको छ । ‘फार्मेसी लगायत ठाउँमा सेवाग्राही बिचको निश्चित दुरी कायम राख्न गोलो घेरा कोरेका छौं । टिकट काउन्टरका कुर्सीलाई पनि पहिलेभन्दा केही फराकिलो दुरीमा राखेका छौं,’ उनले भने ।

बढी चाप हुने ठाउँ भएकाले अस्पतालले गम्भीर रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको उनको दाबी छ । बिरामीका १ जना मात्र कुरुवालाई बस्न दिने नियम बनाइएको डाइरेक्टर डा चौधरीले बताए । तापक्रम जाँच गरेर मात्र अस्पतालमा प्रवेश दिइएको छ ।

तपाईको प्रतिक्रिया