भारतबाट ११ जनाको उद्धार, क्वारेन्टिनको क्षमता बढाइयो

समाधान संवाददाता २०७७ जेठ १० गते १३:५१

राकेश शर्मा
म्याग्दी, १० जेठ


भारतबाट म्याग्देलीको उद्धार गर्ने भएपछि म्याग्दीमा क्वारेन्टिनको क्षमता विस्तार गरिएको छ । भारतीय सिमानामा अलपत्र परेर घर फर्किएकाहरुलाई राख्न कोभिड–१९ जिल्ला कमान्ड पोस्टको संयोजनमा म्याग्दी बहुमुखी क्याम्पसमा ५१ जना क्षमताको क्वारेन्टिन बनाइएको छ ।

हालसम्म जिल्लामा बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविमा ३० जनासहित जिल्लाभर १ सय ७३ जना क्षमताको क्वारेन्टिन बनाइएको थियो । भारतबाट आउनेको संख्या बढ्ने देखिएकाले क्वारेन्टिनको क्षमता बढाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

Advertisement

भारत लगायतका मुलुकबाट आउनेहरुलाई सुरक्षित रुपमा राख्न, व्यवस्थापन गर्न र कोरोना फैलिन नदिन एकान्तबासको क्षमता विस्तार गरिएको प्रजिअ ढकालको भनाई छ ।

क्वारेन्टिन बनाउन म्याग्दी बहुमुखी क्याम्पसले भवन उपलब्ध गराएको छ । क्याम्पसका कोठामा खाट, डसना, तन्ना, सिरक, सिरानी व्यवस्थापन गरेर एकान्तबास बनाइएको छ ।

Advertisement

यसअघि माउन्ट एभरेस्ट आवासीय माविको हिलसाइडमा रहेको भवनमा बनाइएको एकान्तबास भने हटाइएको छ । मापदण्ड अनुसार दुरि कायम र संक्रमण फैलिन नपाउने गरी व्यवस्थित किसिमको क्वारेन्टिन बनाइएको प्रजिअ ढकालले बताए ।

कोरोना (भाइरस) नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र रोजगारी गुमेपछि भारतीय नाकामा आएर अलपत्र परेका ११ जना म्याग्देलीहरुलाई शुक्रबार सम्बन्धित जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहहरुसँग समन्वय गरेर उद्धार गरेर बेनी ल्याइएको छ । उनीहरु सुनौली नाकाबाट आएका हुन् ।

महेन्द्रनगरमा १० जना, झापाबाट ८ जना र कैलालीको गौरीफन्टा नाकाबाट २९ जना म्याग्देलीहरुलाई शनिबार बिहानसम्म बेनी ल्याइपु¥याउने तयारी छ । ६० जनाभन्दा बढी सम्पर्कमा आएका छन् । म्याग्दी आउनेहरुको नाकामा द्रुत परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेभिट देखिएको छ ।

म्याग्दीमा ल्याएपछि पिसिआर र आरडिटी दुवै विधिबाट कोरोना परीक्षण गरिने प्रशासनले जनाएको छ । रघुगंगा गाउपालिकाको भगवतीका ४ जना भारतबाट नेपाल छिर्न नसक्दा उद्धारमा समस्या भएको छ । अलपत्र परेकाहरुलाई पनि रुपन्देही प्रशासनसँग समन्वय गरेर नेपालतर्फ ल्याउन पहल भइरहेको छ ।

शुक्रबार नेपाली सेनाका श्रीबक्स गुल्मबाट खटिएका सेनाका साथै विद्यार्थी संगठनका प्रतिनिधिले समेतले क्वारेन्टिन बनाउनमा श्रमदान गरेका थिए ।
सीमा क्षेत्रमा अलपत्र परेका म्याग्देली धमाधम आउन थालेपछि न्यु वेस्ट प्वाइन्टको क्वारेन्टाइनले अपुग भएकाले क्याम्पसमा व्यवस्थापन गरिएको प्रजिअ ढकालको भनाइ छ ।

‘पहिलो चरणमा आउनेलाई बेनीकै क्वारेन्टाइनमा राखिने छ, ‘थप आवश्यकता परेमा स्थानीय तहमा तयारी अवस्थामा रहेका क्वारेन्टाइनको बेड प्रयोग गर्छौ,’ प्रजिअ ढकालले भने । थप पूर्वाधार बनाउनभन्दा स्थानीय तहमा खाली रहेका क्वारेन्टाइनलाई नै प्रयोग गर्न आवश्यक समन्वय भइहरेको छ । नेपाल भारतको सिमानाबाट करिब साढे २ सय जान आउने अनुमान गरिएको छ ।

यस अगाडि बेनीको न्यू वेस्ट पोइन्ट आवासीय माविमा ३० बेडसहित पाँचवटै गाउँपालिकामा १ सय ७३ बेड तयारी अवस्थामा रहेकोमा मंगला गाउँपालिकामा भैरहवाबाट आएका १ जना छन् । क्वारेन्टिनका लागि क्याम्पसले कोठा बाहेक खाट, तन्ना डसना, सिरक लगात आवश्यकता अनुसार सहयोग गरेको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रहरी नायव उपरीक्षक किरणजँग कुँवर, क्याम्पस अध्यक्ष बालकृष्ण सुवेदी, नेपाली कांग्रेसका सचिव मीनबहादुर कार्की लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया