स्याङ्जामा २ सहित थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो
समाधान संवाददाता
स्याङ्जाका दुई सहित नेपालमा मंगलबार ९० जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जाको २ जनको पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षण हुँदा उनीहरु कोरोना भाइरस संक्रमित पाइएका हुन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन मार्फत यो पुष्टी गरे । स्याङ्जामा २ जना संक्रमणको पुष्टी सोमबार राती नै भए पनि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आधिकारिक रुपमा पुष्टी गरेको थिए । तर गण्डकी प्रदेश सभाको बैठकमा स्याङ्जाका सांसदले जानकारी गराएका थिए ।
मन्त्रालयले दिएको जानकारी अनुसार महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
तपाईको प्रतिक्रिया