छैन कोरोनाको लक्षण, सीमामा भएन परीक्षण

समाधान संवाददाता २०७७ जेठ १४ गते ६:२१

अनुप पौडेल
पोखरा, १४ जेठ

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङजाका २० र २९ वर्षीय पुरुषमा मंगलबार कोरोना पुष्टि भएको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

संकलित स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । जेठ १० गते वालिङ आइपुगेका दुवैलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको मेयर खाँणले जानकारी दिए । भारतको दिल्लीबाट सुनौली नाका हुँदै नेपाल छिरेका दुवैलाई अहिले जिल्ला अस्पताल स्याङजाको आइसोलेसनमा राखिएको छ ।

Advertisement

उनीहरु दुवै वालिङ नगरपालिका ७ केवरे भञ्याङका हुन् । स्याङ्जा र पाल्पाको सीमानामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पिसिआरका लागि दुवैको स्वाब लिइएको थियो । नेपाल भित्रिने सीममा संक्रमित दुवैको कुनै परीक्षण नभएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी विमलराज कँडेलले जानकारी दिए । ‘जेठ १० गते राति स्याङजा आइपुग्नु भएको हो । सुनौली नाकामा कुनै परीक्षण नभएको स्वयं संक्रमितले जानकारी गराउनुभएको छ,’ उनले भने ।

नगरपालिकाको क्वारेन्टाइनमा अहिले ५३ जना रहेको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिइन् । ‘बिहानसम्म ५५ जना हुनुहुन्थ्यो । २ जनालाई संक्रमण देखिएपछि जिल्ला अस्पताल लगिएको छ,’ उनले भनिन्, ‘त्यसबाहेक १५ जनालाई घर पठाएका छौं ।’

Advertisement


नयाँ २ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । संक्रमित २ जना बागलुङ र २ जना नवलपुरका हुन् । बागलुङका २ जना निको भएर घर फर्किएका छन् भने नवलपुरका २ जनाको भरतपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया