चिनका भगिनी सहरले उपलब्ध गराएका मेडिकल सामग्री पोखरा ल्याइँदै

समाधान संवाददाता २०७७ जेठ १४ गते १८:१४

समाधान संवाददाता

पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध जोडेका चिनका विभिन्न सहरबाट उपलब्ध गराइएका मेडिकल सामग्री पोखरा आउने टुंगो भएको छ । लिन्जी, कुनमिन र गोन्जावो सहरले सहयोग स्वरुप उपलब्ध गराएको हजारौं थान मेडिकल सामग्री बुधबार राति पोखरा आइपुग्ने महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध समन्वयकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

‘भगिनी सम्बन्ध स्थापना भएका सहरबाट सहयोग आउने क्रम जारी छ,’ उनले भने, ‘हालैमात्र ३ सहरले पठाएका सामग्री तातोपानी नाकाबाट काठमाडौं पुगेका छन् । बुधबार राति नै पोखरा आइपुग्छ ।’ चिन–पोखरा मामिला सल्लाहकार विश्वशंकर पालिखेसहित तिमिल्सिना तातोपानी उक्त सामग्री बुझ्न मंगलबार पुगेका थिए ।

Advertisement

लिन्जीले ९ प्रकारका सामग्री पठाएको छ । सर्जिकल मास्क १० हजार थान, गाउन ३ सय थान, ग्लब्स, ह्याट, सुज कभर लगायतका सामग्री छन् । कुनमिनले २० हजार र गोन्जावोले ५० हजार सर्जिकल मास्क उपलब्ध गराएको छ । उपलब्ध सामग्री वितरणको पनि योजना बनाइरहेको तिमिल्सिनाले जानकारी दिए ।

युनान प्रान्तले प्रदेश सरकारलाई उपलब्ध गराएको ५ हजार थान सर्जिकल मास्क र १ हजार थान एन ९५ मास्क काठमाडौं आइपुगेको छ । यसअघि पोखरा महानगरलाई यिविन र गान्जी सहरबाट २० हजार डिस्पोजेबल मास्क प्राप्त भइसकेको छ । छुचाओ सहरबाट ५ हजार मास्क, ५ सय सुट, ३ सय थान गगल्स केहीदिनमा प्राप्त हुने महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध समन्वयकर्ता तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

विश्वशंकर पालिखे र तिमिल्सिना तातोपानी नाकाबाट मंगलबार राति पाेखरा आएसँगै होटल क्वारेन्टिनमा बसेका छन् । पिसिआर परीक्षणपछि मात्र कार्यालय र अन्यको सम्पर्कमा जाने भएका छन् ।

तपाईको प्रतिक्रिया