तोडियो अमेरिका – डब्लुएचओ सम्बन्ध, ट्रम्पले भने : उनीहरु सुध्रिएनन्

समाधान संवाददाता २०७७ जेठ १७ गते ६:४६

एजेन्सी

कोरोना भाइरस फैलिनुमा विश्व स्वास्थ्य संगठनकै हात रहेको भन्दै अमेरिकाले डब्लुएचओसँगको सम्बन्ध तोडेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड डब्ल्यूएचओसँग अमेरिकाको सबै सम्बन्ध तोडिएको घोषणा गरेका छन् ।

Advertisement

यसअघि डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोकेका ट्रम्पले उसलाई सुध्रन भन्दै १ महिनाको समय दिएका थिए । शुक्रबार ह्वाइट हाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले डब्लुएचओ नसुध्रेको र चीनको कठपुतली भएको भन्दै सबै सम्बन्ध तोडेको घोषणा गरे ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

Advertisement

अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।

डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले शुक्रबार पनि दोहोर्‍याए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ । चीनले केबल चार करोड डलर दिन्छ तर डब्ल्यूएचओमा उसैको नियन्त्रण छ ।’

कोरोना भाइरसलाई चीनले पूर्ण नियन्त्रणमा लिइसकेको छ । तर अमेरिका अहिले कोरोनाबाट विश्वमै बढी प्रभावित देश बनेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण एक लाख २ हजार ७ सय ९८ जनाको ज्यान गइसकेको छ भने १७ लाख ४५ हजार ६ सय ६ जना भन्दा धेरै संक्रमित छन् ।

तपाईको प्रतिक्रिया