हेली उद्दारमार्फत पोखरा ल्याइएकी गर्भवती महिलाको स्वास्थ्य सामान्य
समाधान संवाददाता
अत्यधिक रक्तश्रावका कारण हेलिकोप्टर मार्फत उद्दार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएकी म्याग्दीकी गर्भवती महिलाको स्वास्थ्य सामान्य रहेको बताइएको छ । म्याग्दी अन्नपूर्ण गाउँपालिका ५ शिखकी २६ वर्षीया नर्दिता गर्बुजाको उपचार भइरहेको र चिकित्सकका अनुसार स्वास्थ्य सामान्य अवस्थामा रहेको उनका श्रीमान् होमबहादुर गर्बुजा पुनले जानकारी दिए ।
‘शरीरमा जम्मा भएको पानी केही मात्रामा निकालिएको छ,’ उनले भने, ‘डाक्टरले भनेअनुसार उनको स्वास्थ्य सामान्य छ । थप उपचारको लागि पनि प्रक्रिया बढाइएको छ ।’ बच्चालाई जन्म दिनुपर्ने भएकाले त्यसअनुसारको उपचार भइरहेको उनका श्रीमान् पुनले बताए । गर्बुजाको ७ वर्षको पहिलो छाेरी छन्।
अवस्था जटिल भएपछि स्वास्थ्य चौकीको पहलमा तत्कालै उद्दार सम्भव भएको पुनले बताए । पोखरा ल्याउन पाएपछि आमा र बच्चा दुबैको जोखिम टरेको उनले सुनाए ।
७ महिनाकी गर्भवती गर्बुजाको पेटमा २ वटा बच्चा रहेको शिख स्वास्थ्य चौकीकी इन्चार्ज तथा अनमी डिलकुमारी पाइजाले बताइन् । गर्बुजा नियमित स्वास्थ्य जाँचका लागि वडाकै स्वास्थ्य चौकीमा जाने गरेकी थिइन् ।
‘उहाँले केहीसमयअघि देखि नै पेट दुख्यो भन्नुहुन्थ्यो,’ अनमी पाइजाले भनिन्, ‘जिल्ला अस्पताल बेनीमा भिडियो एक्सरे गर्न मैले सल्लाह दिएकी थिए । रिपोर्टले जुम्ल्याहा बच्चा बसेको देखाएको थियो ।’ शरीरमा पानीको मात्रा आवश्यकता भन्दा बढी देखिएको उनले सुनाइन् ।
स्वास्थ्य चौकीमा समाधान गर्न नसकिने केस भएकाले पाइजाले नै स्वास्थ्य निर्देशनालयमा सम्पर्क गरेर उद्दार गर्न आग्रह गरेकी थिइन् ।
दुर्गम भेगका गर्भवती महिलालाई स्वास्थ्य सुरक्षा दिने हेतुले गण्डकी प्रदेश सरकारले हेलिकोप्टर उद्दार गर्दै आइरहेको छ । सामाजिक विकास मन्त्रालयको निर्देशनमा आइतबार बिहानै गर्बुजाको हेलिकोप्टर मार्फत उद्दार गरिएको थियाे ।
तपाईको प्रतिक्रिया