संक्रमित र क्वारेन्टिनमा रहेकाको अवस्था बुझ्न मन्त्री पुन एकैदिन ३ जिल्लामा

समाधान संवाददाता २०७७ जेठ २२ गते ८:५१

समाधान संवाददाता

पछिल्लो समययता नेपालभर तिव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ५४ जनामा संक्रमण पुष्टि भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयको बिहीबार बिहानको अपडेटले जनाएको छ ।

बागलुङ, म्याग्दी र पर्वतमा संक्रमितको संख्या थपिइरहेको सन्दर्भमा सामाजिक विकास मन्त्री नरदेवी पुनले बुधबार मात्रै ३ वटै जिल्लाको अनुगमन गरेकी छन् ।

Advertisement

क्वारेन्टिनमै रहेकाहरुबाट संक्रमणको उच्च जोखिम भएको बेला मन्त्री पुनले क्वारेन्टिनको व्यवस्थापन गुणस्तरीय बनाउन अनुगमन र निरीक्षण गर्न पुगेको बताइन् । कोरोना रोकथाम र संक्रमितको उपचारमा भइरहेको कामबारे जानकारी लिन आफैं फिल्डमा खटिएको उनको भनाइ छ ।

‘बुधबार ३ जिल्लामा मन्त्रालयको टोली अनुगमन र निरीक्षणमा पुग्यो,’ उनले भनिन्, ‘सिडिओ, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षा निकायसँगको छलफलमा क्वारेन्टिन व्यवस्थापनमा कुनै कमी नगर्न भनेका छौं ।’ जिल्लामा फेला परेका संक्रमितको उपचारमा विशेष ध्यान दिन मन्त्रीको निर्देशन छ ।

Advertisement

संक्रमणदर बढिरहेका बेला न्यूनिकरणका लागि आगामी योजनाबारेसमेत मन्त्रीले जिल्ला तहका अधिकारीसँग छलफल गरेकी हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार बिहानसम्म गण्डकीमा संक्रमण पुष्टि भएको संख्या ५४ छ । बिहीबार मात्र ४ जिल्लाका १६ जना संक्रमित थप भएका हुन् ।

थप भएका संक्रमित बागलुङ १०, पर्वत ४, म्याग्दी १ र स्याङ्जाका १ जना छन् । संक्रमित सबै क्वारेन्टिनमै रहेका थिए । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक डा विन्दुविन्दु शर्माले जनाएका छन् ।

तपाईको प्रतिक्रिया