१ सातासम्म आएन संक्रमितसँगै आएका ४२ जनाको पिसिआर रिपोर्ट

समाधान संवाददाता २०७७ जेठ २३ गते १५:०८

अनुप पौडेल, पोखरा

कोरोना संक्रमितसँगै आएकाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा रिपोर्ट नआएपछि वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरु अन्योलमा देखिएका छन् ।

क्वारेन्टाइनमा बसेको १४ दिन पुग्नै लाग्दासमेत संक्रमितसँगै आएका ४२ जनाको स्वाब परीक्षण रिपोर्ट नआएपछि घर जान पाउने/नपाउनेबारे अन्योल देखिएको हो ।

Advertisement

‘नगरपालिकाका ५ जना संक्रमितसँगै आएका ४२ जनाको स्वाब जेठ १८ गते पठाएका थियौं । हप्तादिन भइसक्यो, रिपोर्ट नै आएको छैन,’ नाम उल्लेख नगर्ने शर्तमा नगरपालिका स्रोतले भन्यो, ‘हामीले सम्पर्क गर्दा लोड धेरै भएर हो भन्नुहुन्छ ।’

संक्रमित भेटिएपछि एउटै बसमा आएका अरुको पहिलोपटक परीक्षण गर्दा नेगेटिभ आए पनि दोस्रो पटकको रिपोर्ट नआएको हो । सँगै पोखरा पठाइएको छिमेकी पालिकाबाट संकलित स्वाबको नतिजा २ दिनमै आए पनि वालिङका ४२ जनाको स्वाबको रिपोर्ट ६ दिन हुँदा पनि नआएको ती अधिकारीको गुनासो छ ।

Advertisement

‘काठमाडौं पठाएको भए पनि ६ दिनसम्म त रिपोर्ट आउनुपर्ने हो,’ नगरपालिका स्रोतले भन्यो, ‘रिपोर्ट पठाएकामध्ये कसैमा संक्रमण देखिए उसलाई आइसोलेसनमा राख्नपर्छ । यत्तिको दिन भइसक्यो, के भइराखेको छ भन्ने बुझ्नै सकिएन ।’

स्याङ्जामा पहिलोपटक जेठ १३ गते वालिङ ७ का २९ र २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई वालिङ नगरपालिकाले सुनौली नाकाबाट उद्धार गरेर जेठ १० गतेदेखि क्वारेन्टाइनमा राखेको थियो ।

९ जनामध्ये ५ जना वालिङ र ४ जना चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । ९ जनाको समूहमा आएकामध्ये २ जनामा संक्रमण देखिएपछि दुवै पालिकाले एउटै बसमा आएकाको स्वाब पोखरा पठायो । वालिङबाट चापाकोटको क्वारेन्टाइनमा गएका ४ जनामा कोरोना पुष्टि भए पनि वालिङका संक्रमितको टोलीका ३ जनाको दोस्रो रिपोर्ट आएको छैन ।

जेठ १४ गते कोरोना पुष्टि भएका वालिङकी ३९ वर्षकी महिलासहित २ पुरुषको सम्पर्कमा आएका गरी स्वाब पठाइएका ४२ जनाको रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकालाई घर पठाउने/नपठाउनेबारे अन्योलता देखिएको छ ।

‘प्रोटोकलले १० दिन बसेपछि आरडिटि नेगेटिभ आए घर पठाउनु भन्छ,’ वालिङ नगरपालिका स्रोतले भन्यो, ‘आरडिटी नेगेटिभ आएर पिसिआर पोजेटिभ आउने पनि हुन सक्छ नि । भोलि संक्रमण समुदायमा पुग्न सक्छ । त्यसैले रिपोर्ट नआउँदा के गर्ने भन्ने अन्योल भयो ।’

वालिङ नगरपालिकाको क्वारेन्टाइनमा अहिले १ सय ३६ जना छन् । स्याङजा जिल्लाभर अहिलेसम्म १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तीमध्ये ५ जना वालिङ नगरपालिकाका हुन् ।

वालिङकी १ महिला संक्रमितको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । अरु ४ जना चापाकोट गाउँपालिका, २ जना गल्याङ नगरपालिका र १ जना कालीगण्डकी गाउँपालिकाका पुरुष हुन् ।

लोड धेरै भएर ढिलाइ : प्रमुख सुवेदी

प्रयोगशालामा पठाइएको स्वाबको रिपोर्ट आउन भएको ढिलाइबारे प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीका प्रमुख सपना सुवेदीसँग बुझ्दा उनले लोड धेरै भएकाले नतिजा आउन ढिला भएको प्रतिक्रिया दिइन् ।

वालिङको स्वाब परीक्षणको रिपोर्ट शुक्रबार (आज) बेलुकासम्म आइपुग्ने उनले बताइन् । उनले भनिन्, ‘अहिले लोड धेरै भएकाले धेरै स्वाब पेन्डिङमा छन् । वालिङको परीक्षण प्रोसेसिङमा छ । आज बेलुकासम्म रिपोर्ट आउँछ ।’

तपाईको प्रतिक्रिया