पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल

समाधान संवाददाता २०७७ जेठ २४ गते १४:०६

समाधान संवाददाता

काठमाडौंको निजी अस्पतालमा उपचाररत पोखराका ६० वर्षीय पुरुषको सम्पर्कमा आएका पोखराका हाइप्रोफाइल सहितका ३५ जना पोखरा महानगरपालिकाको सम्पर्कमा आएका छन् ।

ती संक्रमितको सम्पर्कमा आउनेमा अधिकांश कानुन व्यवसायी रहेको पोखरा महानगरका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले जानकारी दिए । ‘उहाँको सम्पर्कमा आउनेको ट्रेसिङ गरिरहेका छौं । अहिलेसम्म ३५ जना सम्पर्कमा आउनुभएको छ,’ उनले भने, ‘तीमध्ये अधिकांश हाइप्रोफाइल हुनुहुन्छ । कोही कानुन व्यवसायी, कोही विद्यालयका फाउन्डर, कोही प्रिन्सिपल हुनुहुन्छ । त्यसबाहेक औषधी पसले र कपाल काट्ने पनि सम्पर्कमा आएको पाइयो ।’

Advertisement

अहिलेसम्म सम्पर्कमा आएका सबैलाई घरमै सुरक्षित बस्न भनिएको आचार्यले बताए । सम्पर्कमा आएका व्यक्तिको घरघरमै गएर प्रहरीको टोलीले खोजपड्ताल गरेको छ । प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति कामका सिलसिलामा धेरै ठाउँमा पुगेको र अप्रत्यक्ष रुपमा धेरै जना सम्पर्कमा आएकोले यो केस पोखराकै लागि खतराको संकेत हुनसक्ने भन्दै ट्रेसिङमा विशेष ख्याल गर्न सरोकारवालाले आग्रह गरेका छन् ।

उनका अनुसार संक्रमितसँग सम्पर्कमा आएकाको परीक्षण गर्नेरनगर्ने बारे स्वास्थ्य निर्देशनालयसँग छलफल गर्ने तयारी भइरहेको छ । मंगलबार बिहान आलुमाइला चोक नजिकै डेरामा बेहोस अवस्थामा भेटिएका ती बिरामीलाई सोही दिन दिउँसो काठमाडौं लगिएको थियो । उनको होस अहिले भने खुलेको छ र स्वास्थ्य अवस्था सामान्य छ ।

Advertisement

उनलाई कोरोना भएको पुष्टि शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले गरेको थियो । परिवारका सदस्यको सहयोगमा ती बिरामीको यात्रा विवरण लिइने स्वास्थ्य अधिकारीले जनाएका छन् । बिरामी भएलगत्तै आलुमाइल चोकबाट गण्डकी मेडिकल कलेज लगिएका उनलाई भेट्न शुभेच्छुकहरु पुगेका थिए ।

संक्रमितको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मीलाई भने अस्पताल प्रशासनले आफै खोजी गरेको छ । कास्कीमा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । ४ जनामध्ये ३ जनालाई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

सम्बन्धित समाचार

  कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !

३ दिनअघि पोखराबाट लगिएकाे थियाे काठमाडौंमा पुष्टि भएका संक्रमित

तपाईको प्रतिक्रिया