‘कोरोना’ देखिएपछिको ४ दिने बेचैनी

समाधान संवाददाता २०७७ जेठ २८ गते २१:०७

रोहितराज बास्तोला

कुरा ८ दिन पहिलेको हो । म बिहान मर्निङ वाक गएर घर आएको थिएँ । घर आएको केही बेरपछि गण्डकी मेडिकल कलेजको इमर्जेन्सी वार्डबाट फोन आयो । त्यसपछि पोखराका १ जना कानुन व्यवसायी बिमार भएको थाहा पाएँ ।

बिमार परेको खबर पाएपछि लकडाउनका बीच पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज पुगेँ । आफ्नै घरपरिवारका सदस्यसँग डराउनुपर्ने अवस्था सिर्जना भइरहेको अवस्थामा प्रत्यक्ष सम्पर्कमा रहेँ । मेरो पेसागत सम्बन्ध र मानवियताले म पछि हट्न सुहाउँदा पनि सुहाउँथेन ।

Advertisement

म कानुन व्यवसायीको छाता संगठन बार एसोसिएसन उच्च अदालत पोखराको अध्यक्ष भएकाले पनि एउटा कानुन व्यवसायी समस्यामा हुँदा म आउन मिल्दैन भनेर नैतिकताले पनि दिएन ।

बिमार कानुन व्यवसायीको घर भोजपुर हो, परिवार काठमाडौंमा हुनुहुन्छ, तर कार्यथलो यतै भएकाले लामो समयदेखि पोखरामै हुनुहुन्छ । म अस्पताल पुग्दा अरु साथीभाइ पनि अस्पताल आउनुभएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले उहाँको परीक्षण गर्नुभयो । बुझ्दै जाँदा शरीरमा सोडियमको मात्रा कम भएको पत्ता लाग्यो । थप उपचारका लागि काठमाडौं लग्दा राम्रो हुन्छ भन्ने कुरा आयो ।

Advertisement

बाहिर अरु सिनियर चिकितसकले पनि काठमाडौं लैजान सुझाउनुभयो । त्यसपछि हामी हेलिकोप्टर खोज्न लागिप¥र्यौं । हेलिकोप्टर उडाउन गृह मन्त्रालयको अनुमति चाहिने रहेछ । एउटा बिरामीलाई तत्काल लैजानुपर्ने बेला सबैको परिचय खुल्ने कागजातको खोजी गरेर समय बर्बादमात्र भयो । बिरामीलाई अस्पताल पु¥याएपछि पनि दिन सकिन्थ्यो नि ।

डेढ घन्टा समय हेलिकोप्टरको अनुमति लिँदैमा बित्यो । यस्तो संवेदनशील विषयमा समेत सबै प्रक्रिया खोजेको देख्दा केही हदसम्म दुखी तुल्यायो । अनुमति पाएपछि म र पोखराका अर्का एकजना साथीले उहाँलाई काठमाडौंको ह्याम्स अस्पताल पु¥यायौं । त्यहाँ भर्ना गरेपछि पोखरा आइयो । उहाँको स्वास्थ्य अवस्थाबारे अपडेट लिइराखेका थियौं । शुक्रबारको दिन कास्कीका ६० वर्षीय पुरुषमा कोरोना देखिएको खबर सार्वजनिक भयो ।

पछि थाहा भयो हामीले काठमाडौं लगेकै व्यक्तिमा कोरोना देखिएको रहेछ । झन्डै ७ घन्टा सँगै बिताएको मान्छेमा कोरोना देखिएको खबर अस्पताल भर्ना गरेर फर्किएको तेस्रो दिन थाहा भयो । अस्पताल पुग्दा हाम्रो नाम, ठेगाना, सम्पर्क नम्बर लिइएको थियो । अस्पतालबाटै फोन आयो । अस्पतालका प्रतिनिधिले भन्नुभयो – तपाईंले यहाँ ल्याउनुभएको सरमा कोरोना संक्रमण देखियो,सुरक्षित रहनुहोला ।

सरलाई कोरोना देखिएको सार्वजनिक भएपछि मलाई नि कोरोना लाग्यो होला भन्ने भयो । त्यत्रो समयसँगै बिताएकाले मन आत्तियो ।पोखरा फर्किएपछि थुप्रै साथीभाइ र परिवारका सदस्यसँग उठबस भएको थियो ।साथीहरुले एकपछि अर्कोे गर्दै फोन गर्नुभयो । उहाँहरुले सबै कुरा सोध्नुहुन्थ्यो, म भन्थें ।

मनमा अनेकौं कुरा खेल्न थाले । घरि मास्क लगाएकै भएपनि कति पटक खोलियो होला भन्ने सोच्थेँ, घरि अब के होला भन्ने लाग्थ्योँ । मनभरि नकारात्मक विचार पैदा भयो । भारतबाट आएकालाई कोरोना देखियो भन्ने सुनिरहेका बेला कोरोनाको डर लाग्न थाल्यो । म आध्यत्मा र योगमा विश्वास गर्ने भएकाले केही हुँदैन भनेर घरमै ध्यान गर्थें ।

मैले ४ दिनमा विचार विज्ञान, वौद्ध अनुयायीले अमेरिकामा लेखेको प्रत्येक स्वासमा आनन्द लगायत आध्यात्मिक पुस्तक अध्ययन गरें । ती किताबले मेरो मनमा भएको डर कम गर्न निकै राहत मिल्यो ।

उहाँ कतै नगएको मान्छेमा संक्रमण देखिनु रैथाने कोरोना नै थियो नि ! उहाँको दोस्रो रिपोर्ट नेगेटिभ आइसक्यो तर अहिलेसम्म उहाँलाई कसरी कोरोना लाग्यो भन्ने थाहा छैन । आफूमा त्रास हुनु एकातिर र समाजले हेर्ने दृष्टिकोण अर्कोतिर हुने रहेछ ।

म पोखरा–११ फूलबारीमा बस्ने भएकाले कतिले फूलबारीमा कोरोना आयोसम्म भन्नुभयो ।धेरै साथीभाइले मलाई हौसला दिनुभयो । कति त जडिबुटी लिएर घरमै सामाजिक दुरी राखेर भेट्न आउनुभयो, मनोबल उच्च बनाउन सुझाव दिनुभयो, कतिले सँगै हुँदैमा कोरोना नलाग्ने भनेर हार मान्न दिनुभएन ।

मेरो छिमेकका ८÷१० घरकाहरु मेरो सम्पर्कमा आउनुभएको थियो । मसँग सम्पर्कमा आएकाहरुमा कोरोना देखियो भन्ने थाहा पाएपछि सबै सेल्फ क्वारेन्टाइनमा बस्यौं । पछि उहाँको प्रत्यक्ष सम्पर्कमा आउनुभएका सबैको स्वाब संकलन गर्ने कुरा आयो ।

आइतबार मसहित ३९ जनाको स्वाब संकलन भयो । २ दिनपछि मंगलबार राति हाम्रो रिपोर्ट आयो । ३९ जनाकै रिपोर्ट नेगेटिभ आएपछि मन ढुक्क भयो । अहिले पनि म घरमै सेल्फ क्वारेन्टाइनमा बसेको छु ।

म सबैलाई अनुरोध गर्छु, कोही पनि सकेसम्म अरुको सम्पर्कमा नआउनुहोला । अस्पतालमा बिरामी भेट्न जान परे चिकित्सकसँग स्वास्थ्यवस्था बुझेर मात्र जानुहोला । आफ्नो मान्छे भनेर जान हुँदैन रहिन्छ । सामाजिक दुरी नै कोरोनाबाट बच्ने उत्तम विधि रहेछ ।

समाजका मानिसमा कोरोनाबारे कस्तो भ्रम छ भन्ने मैले ४ दिनको अवधिमा थप बुझें । साथै यस्तो समयमा मिडिया साह्रै जिम्मेवारी हुनुपर्ने रहेछ ।

मिडियाको सानो झिल्कोले यहाँ आगो सल्काउँछ । त्यसैले मिडियाकर्मी साथीलाई पनि सन्तुलित र सत्य सामग्री प्रसारण गरिदिन आग्रह गर्छु ।अन्त्यमा, विश्व महामारीसँग जुधिरहँदा फ्रन्टलाइनमा खटिनुभएका स्वास्थ्यकर्मीले मध्यरातसम्म लागिपरेर हामीलाई आश्वास्त पार्नुहुने सबैप्रति आभारी छु ।

(समाधानकर्मी अनुप पौडेलसँगको कुराकानीमा आधारित । बार एसोसिएसन उच्च अदालत पोखराका अध्यक्ष बास्तोला पोखराका पहिलो कोरोना संक्रमितलाई उपचारका लागि काठमाडौं लैजाने मध्येका एक हुन् ।)

तपाईको प्रतिक्रिया