गण्डकीका ११ कोरोना संक्रमित घर फर्किए

समाधान संवाददाता २०७७ जेठ २८ गते २१:१२

समाधान संवाददाता

गण्डकी प्रदेशका २ जिल्लाका ७ कोरोना संक्रमित कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका छन् ।

धौलागिरी अञ्चल अस्पतालमा उपचाररत बागलुङका ४ र स्याङजा जिल्ला अस्पतालमा उपचाररत ३ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

Advertisement

बागलुङका २, लमजुङ र नवलपुरका १÷१ जना पहिल्यै निको भइसकेका छन् । १४ जेठमा भर्ना भएका तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका २÷२ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा तमानखोलाका २७ र २१ वर्षे पुरुष र बडीगाडका १९ र २० वर्षे पुरुष छन् । बागलुङमा हालसम्म ४० जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३७ पुरुष र ३ महिला छन् ।

Advertisement

बुधबार नै गल्याङका २ र वालिङका १ गरी ३ संक्रमित कोरोनालाई जितेर स्याङजा जिल्ला अस्पतालबाट घर फर्किएका छन् । अस्पतालले २२ जेठमा आइसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मीसहित उपचाररत ६ संक्रमितको स्वाब पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा पठाएको थयो ।

उक्त स्वाब परीक्षण गर्दा स्वास्थ्यकर्मी र ३ संक्रमितको नतिजा नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. अञ्जु अर्यालले जानकारी दिइन् । डा. अर्यालका अनुसार बाँकी ३ संक्रमितको नतिजा पोजेटिभ आएको छ ।

बुधबार घर फर्किनेमा वालिङका २१ वर्षे पुरुष र गल्याङका २७ र ४० वर्षे पुरुष छन् । ‘वालिङका पुरुषमा १४ जेठ र गल्याङका पुरुषमा १८ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँहरुको रिपोर्ट नेगेटिभ आएपछि बिदाई गरेर घर पठायौं,’ उनले भनिन् स्याङ्जामा अहिलेसम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये अधिकांश वालिङ नगरपालिकाका छन् । जिल्लाका संक्रमितमध्ये १ महिलाबाहेक अरु सबै संक्रमित पुरुष हुन् । संक्रमित ३९ वर्षीया महिलालाई केही समय पोखरास्थित क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा ल्याएर उपचार गरिएको थियो ।

जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि १५ जेठमाती महिला संक्रमितलाई पोखरा ल्याइएकोमा २४ जेठमा जिल्ला फकाइएको थियो । उनको हाल स्याङजाको हेलुस्थित कालिका सामुुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमित सबैलाई स्थानीय पालिकाले नेपाल–भारत सीमाबाट उद्धार गरेर आफ्नो क्वारेन्टाइनमा राखेका थिए । भारतबाटै आएका वालिङका ५८ वर्षीय पुरुषको भने गत आइतबार पोखरामा उपचारको क्रममा मृत्यु भएको थियो । श्रीमतिसँग दिल्लीबाट जेठ २१ गते जिल्ला फर्किएका उनी सिकिस्त बिरामी भएपछि नगरपालिकाले निजी कार पठाएर सुनौली नाकाबाट उनको उद्धार गरेको थियो ।

जिल्ला आएको भोलिपल्ट उपचार गर्न पोखरा आएका उनको संक्रमण पुष्टि भएकै दिन जेठ २५ गते मृत्यु भएको हो । उनी कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् ।

स्याङ्जामा संक्रमितको उपचार गर्न जिल्ला अस्पताल र भीरकोट नगरपालिका १ हेलुस्थित कालिका सामुदायिक अस्पताललाई प्रयोग गरिएको छ । गण्डकी प्रदेशमा बुधबारसम्म १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया