क्षेत्रीय अस्पतालको आइसोलेसन भरियो, अब संक्रमितलाई मेडिकल वार्डमा राखिने

समाधान संवाददाता २०७७ असार ४ गते १०:४३

अनुप पौडेल, पोखरा

कोरोना संक्रमितको उपचार गराइरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको डेडिकेटेड आइसोलेसन भरिएपछि विकल्पको रुपमा अस्पतालकै मेडिकल वार्डलाई प्रयोग गरिने भएको छ । सरकारले कोरोना डेडिकेटेड अस्पताल घोषणा गरेपछि १० बेडको आइसोलेसन वार्ड बनाइएकोमा हाल ९ संक्रमित उपचाररत छन् ।

‘हामीलाई आइसोलेसनको समस्या नहोला । अस्पताल भित्रकोमेडिकल वार्डलाई आइसोलेसनको रुपमा प्रयोग गर्छौं । सुरक्षित हुने गरेर त्यसलाई तयार राखेका छौं । त्यहाँ ३५ बेड छ,’ क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले भने ।

Advertisement

मेडिकल वार्ड प्रयोग गर्दा अस्पतालको अरु सेवा प्रभावित नहुने उनले बताए । आचार्यका अनुसार मेडिकल वार्डमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई राख्न अस्पतालले छुट्टै ठाउँ बनाइएको छ ।

‘अस्पतालको अरु सेवा प्रभावित हुँदैन । मेडिकल वार्ड जान पछाडिको ढोका प्रयोग गर्छौं । डायालासिस, आइसियू बन्द हुँदैन, सूचना अधिकारी आचार्यले भने, ‘कोही संक्रमितलाई आइसियुमा राख्नुपर्छ कि भनेर एक बेड छुट्टै बनाउने योजना छ ।’

Advertisement

क्षेत्रीय अस्पतालमा १२ बेडको आइसियु र ४ वटा भेन्टिलेटर छन् । ४ मध्ये एउटा भेन्टिलेटरलाई हाल संक्रमितको उपचार भइरहेको आइसोलेसनमा राखिएको छ । संक्रमितको उपचारमा ६ नर्स, २ मेडिकल अफिसर, सहयोगी ३ जना खटिएका छन् । त्यसबाहेक संक्रमितलाई आवश्यक परे परामर्शदाता पनि तयार रहेको सूचना अधिकारी आचार्यले बताए ।

क्षेत्रीय अस्पतालको आइसोलेसन

उनका अनुसार अहिलेको आइसोलेसनलाई खाली गरेर सबै संक्रमितलाई मेडिकल वार्डमा सार्ने गरी पनि छलफल भइरहेको छ । ‘हामीले ९ जनाको स्वाब पठाएका छौं । उहाँहरुको नेगेटिभ आए घर पठाउँछौं नभए अहिलेको आइसोलेसन खाली गरेर सबैलाई वार्डमा सार्छौं,’ आचार्यले भने ।

कोरोना संक्रमण देखिएसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यामा समेत प्रभाव परेको छ । कोरोना देखिनुअघि दैनिक १५ सयको हारहारीमा बिरामी उपचार गराउन आउने गरेकोमा अहिले मुस्किलले २ सय जना मात्र आइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

‘मेडिकल वार्डलाई आइसोलेसन बनाएपनि बिमाको औषधि खाने आउनुहुन्छ । आइसियु, इमर्जेन्सीको सेवा पनि रोकावट हुँदैन,’ उनले भने, ‘तर कोरोना देखिएपछि उपचारलाई आउने बिरामीको संख्या धेरै कम भएको छ ।’

६५ जनाको स्वाब संकलन

कोरोना पुष्टि भएपछि मंगलबार क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ९० वर्षे वृद्धको सम्पर्कका ६५ जनाको स्वाब संकलन गरिएको छ । संक्रमित उपचार गराउन पुगेको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी र परिवारका सदस्य गरी ६५ जनाको स्वाब संकलन गरिएको हो ।

‘प्रारम्भिक ट्रेसिङ गर्दा ६५ जना सम्पर्कमा आएको देखिएको छ । त्यसमा ५३ जना अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायतका कर्मचारी हुनुहुन्छ । बाँकी १२ जना परिवारका सदस्य हुनुहुन्छ,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।

ती वृद्धको स्वास्थ्यवस्था सामान्य रहेको क्षेत्रीय अस्पतालले जनाएको छ । क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले भने, ‘९० वर्षका बुवाको अवस्था चिन्ता लिनुपर्ने खालको छैन । खाना खाइरहनुभएको छ ।’

संक्रमित वृद्ध कोरोनाबाट मृत्यु भएका वालिङका ५८ वर्षे पुरुषसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा बसेका थिए । ४ दिन अस्पताल बसेर घर गएको भोलिपल्टै पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ल्याइएको थियो । ज्वरो आएकाले स्वाब संकलन गरेर पठाइएकोमा मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गराउनेमा कास्कीको रुपा गाउँपालिकाका २ सहित पोखरा २७, ३०, ९ र १४नम्बर वडाका पुरुष छन् । पोखरा–१४ का संक्रमित ९० वर्षे वृद्धबाहेक अरु संक्रमित २१ देखि ५९ वर्ष उमेर समूहभित्रका छन् । पोखराको उक्त आइसोलेसनमा उपचार गराउनेमा ३ संक्रमित बाहिरी जिल्लाका छन् ।

दुर्घटनापछि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउन आएका पर्वतको कुश्मा ३ का ३५ वर्षे युवकमा ३० जेठमा कोरोना पुष्टि भएपछि उनको यहीँ उपचार भइरहेको छ । अर्का २ संक्रमितलाई भने श्वासप्रश्वासमा समस्या भएपछि स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालबाट २८ जेठमा पोखरा रेफर गरिएको हो ।

१९ सय स्वाब पेन्डिङ

प्रदेश जनस्वास्थ्य कार्यालयले २ वटा पिसिआर मेसिनबाट कोरोना परीक्षण भइरहेको बताएपनि अझै परीक्षणको गति दु्रत हुन सकेको छैन । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका १९ सय १ स्वाब अझै पेन्डिङमा छन् ।

हालसम्म गण्डकी प्रदेशमा ८ हजार ४ सय ४३ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये ६ हजार २ सय ९५ जनामा कोरोना नेगेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ३ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । प्रदेशको मुस्ताङबाहेक १० वटा जिल्लामा संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया