जिएमसीका बिरामीमा कोरोना पुष्टि, ढाकछोप गर्दै अस्पताल

समाधान संवाददाता २०७७ असार ५ गते १७:१८
Gandaki Medical College. Photo: GMC

संक्रमण पुष्टि भएका पुरुष डेडिकेटेड आइसोलेसनमा गइसक्दासमेत अस्पताल प्रशासनले कुनै सुरक्षा सतर्कता अपनाएको छैन ।

संक्रमित उपचार गर्न आएको स्वीकार गर्नै आनाकानी

Advertisement

अनुप पौडेल
पोखरा, ५ असार

गण्डकी मेडिकल कलेजले स्वास्थ्यकर्मी र सेवाग्राहीको स्वास्थ्यमाथि गम्भीर लापरबाही गरेको तथ्य फेला परेको छ । उपचारका लागि आएका पुरुषमा कोरोना पुष्टि हुँदासमेत अस्पतालले उनको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा राख्न आनाकानी गरेको हो । संक्रमण पुष्टि भएका पुरुष डेडिकेटेड आइसोलेसनमा गइसक्दासमेत अस्पताल प्रशासनले कुनै सुरक्षा सतर्कता अपनाएको छैन ।

Advertisement

‘यहाँ उपचारलाई आएका पुरुषमा बिहीबार कोरोना देखियो । तर सम्पर्कमा आएका कसैलाई पनि क्वारेन्टाइनमा राखेको छैन,’ नाम नबताउने शर्तमा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘हामीमाथि मात्र होइन, उपचारका लागि आउने अरु बिरामीको स्वास्थ्यमाथि पनि लापरवाही हो ।’

स्रोतका अनुसार बिहीबार कोरोना संक्रमण पुष्टि भएका ६३ वर्षे पुरुष मंगलबार साँझ स्याङ्जाबाट पोखरा आएका थिए । उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण थियो । सबै टेस्ट गर्दा उनमा कोरोना भएकोमा स्वास्थ्यकर्मी लगभग पक्का थिए ।

स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालले श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पोखरा रिफर गरेको थियो । ‘हेलुले हाम्रोमा रिफर ग¥यो । उहाँलाई कोरोना पुष्टि भए पनि सम्पर्कमा आएका २५ जनामध्ये अस्पताल प्रशासनले कसैलाई क्वारेन्टाइनमा राख्न मानेन,’ स्रोतले भन्यो ।

मंगलबार सबै परीक्षण गरेपछि ती संक्रमितलाई स्वास्थ्यकर्मीले भर्ना हुन आग्रह गरे । तर उनले मानेनन् । राति ९ बजे अस्पतालबाट निस्किए । भोलिपल्ट फेरि गण्डकी मेडिकल कलेज पुगे । त्यहाँबाट उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइयो । क्षेत्रीय अस्पतालले स्वाब संकलन गरेर पठाउँदा उनमा बिहीबार कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहानको प्रेस विज्ञप्तिमा स्याङ्जाका ६३ वर्षे पुरुषको ठेगाना नखुलेको बताएको थियो । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार उनी पुतलीबजार–११ का बासिन्दा हुन् । संक्रमित वृद्ध ६ दिन पहिले भारतबाट ३ छोरासँग जिल्ला फर्किएको कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । २ छोरा उनलाई लिएर सँगै पोखरा आएका छन् । १ जनामा संक्रमण पुष्टि भएपछि हेलुस्थित सामुदमयिक अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमित आएको स्वीकार्नै आनाकानी

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले संक्रमित व्यक्ति उपचारका लागि अस्पताल आएको बताइरहँदा अस्पताल प्रशासनले भने संक्रमित उपचार गर्न आएको स्वीकार गर्नै आनाकानी गरेको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले आफूले संक्रमित व्यक्ति अस्पताल आएको हो/होइन भन्ने खोजी गरिरहेको बताइन् । उनले भनिन्, ‘मलाई अफिसियल केही जानकारी आएको छैन । आफ्नै हिसाबले खोज्दै छौं ।’

मेसु घलेले बोल्दाबोल्दै आफ्नो मोबाइल अस्पतालका प्रशासकीय अधिकृत लक्ष्मण शर्मालाई मोबाइल दिइन् । उनले पनि संक्रमित अस्पतालमा उपचारका लागि आएको स्वीकार्न आनाकानी गरे । उनले भने, ‘उहाँ यहाँ आउनुभएको होइन, सिधै क्षेत्रीय अस्पताल जानुभएको हो ।’

स–प्रमाण सबै कुरा बताएपछि मात्रै उनले सबै कुरा स्वीकारे । संक्रमितको सम्पर्कमा आएका कर्मचारीको पहिचान गरेर क्वारेन्टाइनमा राख्ने गरी छलफल भइरहेको अधिकृत शर्माले बताए । उनले भने, ‘हामीले उहाँहरुलाई सम्पर्क गरेर घर बस्नुहुन्छ कि अस्पतालकै क्वारेन्टाइमा बस्नुहुन्छ भनेर सोधेका छौं ।’

संक्रमित ती वृद्धको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा उपचार भइरहेको छ । अस्पताल स्रोतले संक्रमितलाई जिएमसीले नै क्षेत्रीय अस्पताल पठाएको पुष्टि ग¥यो । स्रोतले भन्यो, ‘उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम थियो । उहाँलाई भेन्टिलेटर प्रयोग नगरेर आइसियूमा नराखेको भए उहाँका अवस्था खतरा थियो । जिएमसीले कोरोना भए/नभएको फाइनल नभइ त्यत्तिकै पठाएको रहेछ ।’

तपाईको प्रतिक्रिया