जाडो छल्न बेसी झर्दा मुस्ताङमा भित्रियो कोरोना

समाधान संवाददाता २०७७ असार ८ गते ६:०५

एसके थकाली
जोमसोम

घरपझोङ गाउँपालिका—१ छैरोस्थित तिब्बती शरणार्थी शिविरका ८३ वर्षीय वृद्धलाई कोरोना भाइरस पुष्टि भएपछि मुस्ताङ पनि यो रोगबाट अछुतो रहन सकेन । शनिबार साँझ उनलाई कोरोना पुष्टि भएको थियो ।

जिल्ला अस्पतालले पोखरा पठाएको २० स्वाब नमुनामध्ये ती वृद्धमा कोरोना पुष्टि भएको हो । शनिबार विश्व शरणार्थी दिवसकै दिन ती शरणार्थीमा कोरोना भाइरस देखिएको छ ।

Advertisement

छैरोको तिब्बती शरणार्थी शिविर सन् १९७२ सालदेखिको बस्ती हो । यसअघि शरणार्थीको ठूलो समूह मुस्ताङका विभिन्न स्थानमा थियो । तिब्बतका खम्पा विद्रोहीको मुख्य हेडक्वार्टर घरपझोङ—५ को कैसाङ शिविरमा थियो । तिब्बतमा विद्रोहपछि २०३१ सालको सेरोफेरोमा केही तिब्बती मूल थलोमा बस्न नसकेपछि छैरो आएर बस्न थालेका हुन् ।
विगतमा २ सयभन्दा बढी संख्यामा उक्त शिविर बस्दै आएका शरणार्थी संख्या पछिल्लो समय घटेको एकजना अगुवा नर्बु फुञ्जोले जानकारी दिए । अहिले छैरो तिब्बती शरणार्थी शिविरमा करिब ५० घरका करिब १ सय २० व्यक्ति बसोबास गर्दै आइरहेको उनले बताए । मुस्ताङमा हिउँदयाममा जाडो छल्न बेसी झर्ने परम्परा पुरानो हो । यही परम्परालाई तिब्बतीले पनि पछ्याइरहेका छन् । उनीहरु हिउँद याम काठमाडौं तथा पोखरा गएर बस्छन् ।

शनिबार संक्रमित पुष्टि भएका ८३ वर्षीय वृद्धको परिवार जाडो छल्न काठमाडौं पुगेको थियो । काठमाडौं जोरपाटीको तिब्बती शरणार्थी शिविरभित्र उनीहरुले बनाएको घरसमेत छ । संक्रमित वृद्धसँगै ८० वर्षीया श्रीमती, छोरी र ज्वाइँ हिउँद याममा काठमाडौं गएका थिए । तर १८ वर्षीय नातिनीलाई भने भारतको धर्मशालामा पढाउन पठाइएको थियो ।

Advertisement


घाँसाको कोरोना शिविरमा आरडिटी गर्दा संक्रमित वृद्धबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको थियो

संक्रमित वृद्धका सबै परिवारले हिउँद यामभर काठमाडौं शरणार्थी शिविरमा बिताए । फ्रेब्रुअरी —२५ तारिखमा भारतबाट बिदामा आएकी छोरी पुर्‍याउन संक्रमितका ज्वाइँ भारतको धर्मशाला पुगे । त्यहाँ उनी १ साता बढी बसे । भारतमा लकडाउन भएपछि पुन त्यहाँबाट छोरीलाई लिएर काठमाडौं आइपुगे । त्यसपछि श्रीमती, छोरी, ज्वाइँ र नातिनी सबै एकसाथ काठमाडौं शिविरमा थिए । मुस्ताङको शिविरमा बस्ने अन्य व्यक्ति काठमाडौंमा डेरा लिएर बसेको वृद्धकी छोरीले बताइन् । कतिपय शिविरमै थिए ।

जेठको तेस्रो हप्ता काठमाडौंमा रहेका मुस्ताङी शरणार्थी जिल्ला फर्किने योजना बनाए । उनीहरुले गाउँ फर्किने व्यवस्था मिलाइदिन गाउँपालिकालाई अनुरोध गरे । गापाले शरणार्थी फर्किने जानकारी मुस्ताङ प्रशासनलाई गरायो । तर, कहिले फर्किने भन्ने मिति तय नै भएन ।

असार ३२ गते दिउँसो करिब २ बजे उनीहरु पर्वतको डिमुवा आइपुगे । त्यहाँ उनीहरु करिब २ घण्टा रोकिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयको एकतर्फी सहमतिको पास लिएर आएकाले उनीहरु समस्यामा परे । समस्यामा परेका उनीहरुलाई घरपझोङ गाउँपालिकाको पहलमा मुस्ताङ प्रशासनको समन्वयमा प्रवेशाज्ञाको गाँठो फुकायो ।

त्यहाँबाट मुस्ताङ आउँदै गरेका २० जना शरणार्थीको आरडिटी परीक्षण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार घाँसाको कोरोना शिविरमा आरडिटी गर्दा संक्रमित वृद्धबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको थियो । अहिले संक्रमितका ज्वाइँको रिपोर्ट नेगेटिभ आए पनि वृद्ध र शारीरिक रुपमा अशक्त भएका कारण ससुरा र ज्वाइँ दुबैलाई जोमसोम अस्पतालको आइसोलेसनमा राखिएको प्रजिअ अर्यालले जानकारी दिए ।

संंक्रमित व्यक्तिसँगै कोको थिए बसमा ?
मुस्ताङको छैरो तिब्बती शिविरका संक्रमित व्यक्तिसँगै मुस्ताङ यातायात प्रालिको एकबसले २० जना यात्रु लिन पोखराबाट जेठ ३१ गते बिहान काठमान्डौ पुग्यो । प्रालिको ग१ख ७२९० नम्बरको यात्रुवाहक बसका चालकसहित अन्य २ जना चालक र सहचालक गरी ३ जना ३१ गते साझ काठमाडौं पुगे ।

काठमाडाैंको तिनचुलेमा भेला भएका २० जना तिब्बती शरणार्थी लिएर त्यही राति १० बजे मुस्ताङका लागि रात्रीकालीन यात्रा गरेको बसका चालकले बताए । काठमाडौं कटेपछि एक युवती बसमा चढेको बसका यात्रुले बताए । ती युवती पोखरामा झरेको उनीहरुको भनाइ छ । बस नौबिसेमा पिसाब फेर्ने रोकिएको चालकको भनाइ छ ।

नौबिसेमा बस १ घन्टा रोकिएको र यात्रुले कुनै खानपिन नगरेको बताए पनि १ घण्टा रोकिनु अर्थपूर्ण मानिएको छ । बसले पोखरामा तेल हालेको बताए पनि पेट्रोल पम्पको नाम खुलाएन् । त्यसपछि पोखराको हरिचोकबाट मार्फाका एक युवक मुस्ताङ जान बसमा चढेको चालक बताउँछन् । उनी मार्फामा झरेका थिए ।

मुस्ताङ आउँदा बस डिमुवा चेकपोस्टमा २ घण्टा रोकियो । त्यसपछि मुस्ताङ हानियो । जेठ ३२ गते साँझ ५ बजे मुस्ताङको घासा आइपुगेका उनीहरुको कोरोना परीक्षण गर्दा ७ बज्यो । त्यसपछि रिपोर्ट नेगेटिभ आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न लगाइयो । संक्रमित वृद्ध र उनका ज्वाइँलाई आइसोलेसनमा राखियो ।

बसका यात्रु छोडेर पोखरा फर्किएको बसका चालक तथा सहचालक गरी ३ जनाको आइतबार पोखरामा स्वाब संकलन भएको घरपझोङका स्वास्थ्य संयोजक कर्ण थकालीले जानकारी दिए ।

मार्फामा झरेका युवाको स्वाब संकलन हुने उनले बताए । काठमाडौं नजिकबाट चढेकी युवतीको पत्तो हुन नसकेको उनको भनाइ छ ।

आइतबारै मुस्ताङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले संक्रमित शिविरको निरीक्षण गरेको छ । शिविरमा नेपाली सेनाले शिविर आसपासका क्षेत्रमा डिसइन्फेक्सन गरेको स्वास्थ्य संयोजक थकाली उल्लेख गरे । संक्रमितसँगै यात्रा गरेका व्यक्तिसमेत अन्य २ जना गरी २२ जनाको नमुना स्वाब सोमबार पोखरा पठाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित भेटिएसँगै छैरो शिविर तथा आसपासका गाउँहरुमा उच्चसर्तकता अपनाउन अनुरोध गरिएको छैरो गाउँका अध्यक्ष भीम रसाइली बताए ।

तस्बिर: मुस्ताङको छैरो शिविरमा अनुगमन तथा कन्ट्रयाक ट्रेसिङ गर्दै । तस्बिर : एसके थकाली

तपाईको प्रतिक्रिया