‘पेआइसोलेसन’ सञ्चालन गर्न पाेखराका २ होटल तयार

समाधान संवाददाता २०७७ भदौ १२ गते १६:५७

पाेखरा

कोभिड– १९ का संक्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका २ होटल ‘पे आइसोलेसन’ सञ्चालन गर्न तयार भएका छन् ।

महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेशन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए । यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे आइसोलेशनको रुपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए । उनले भने “कोभड –१९ को जोखिम बढिरहेको छ । महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० श्य्याको आइसोलेशन तयार गरेको छ । यो मात्र पर्याप्त हुँदैन यसैले पे आइसोलेशनका लागि होटलहरुलाई आह्वान गरेका हौ ।”

उनले पहिलो चरणमा २ होटल इच्छुक देखिएको तथा उनीहरुले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छफफल भइरहेको जानकारी दिए । यसअघि महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ सञ्चालन गरिएको थियो ।

Advertisement

ती क्वारेन्टिनबाट करिब चारसय जनाले सुविधा लिएको बताइएको छ । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ । महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ । महानगरको सूचनाको आधारमा आइसोलेशन सेन्टरको रुपमा होटल सञ्चालनको लागि इच्छुक देखिएको पोख– १४ चाउथे स्थित होटल रोयल पामका व्यवस्थापक राज श्रेष्ठले बताए ।

उनले भने , “ गत चैत पहिलो साताबाट होटल बन्द छ, कोरोनाको जोखिम बढिरहेको छ । यो अहिलेको कठिन अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड पूरा गरेर होटल आइसोलेशनका सेन्टरको रुपमा दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हाम्रो पनि दायित्व हो ।”

Advertisement

होटलमा ३० कोठामा ६० श्य्या रहेको र ३५ कर्मचारी कार्यरत रहेका छन् । आइसोलेशनको रुपमा दिने सेवा सुबिधा र शुल्कको बारेमा महानगरसँग समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिए ।

पोखरा–१७ ड्यामसाइड स्थित होटल स्टेमा सञ्चालक लिलाबल्लभ पोखरेलले २३ कोठालाई आइसाेलेसनका रुपमा दिन तयार भएको बताए । “कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ, सुरक्षा बिधि अपनाएर अब जनजीवनलाई सामान्य बनाउनु पर्छ, संक्रमितप्रति सकारात्मक दृष्टिकोणको सन्देश दिन पनि होटललाई आइसोलेसन सेन्टरको रुपमा दिन तयार भएको हुँ, ” उनले भने ।

उनले सबैले आ–आफ्नो क्षेत्रबाट उत्तरदायित्व बहन गर्दै जान सकिएमा महामारी जित्न सकिने र स्थिति सामान्य हुँदै जाने विश्वास व्यक्त गरे ।

पोखरा –६ स्थित होटल कुटीका सञ्चालक देवेन्द्र केसीले अहिले क्वारेन्टिनको रुपमा होटल सञ्चालन भएको र आवश्यक परे आउने दिनमा आइसोलेशनको लागि होटल दिएर राज्यलाई सहयोग गर्न तयार रहेको जानकारी दिए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरा महानगरपालिकाको आइसोलेसनका लागि आह्वान गरे पनि यहाँका अधिकांश होटल बन्द हुनुका साथै पर्याप्त पार्किङ लगायतका मापदण्ड भित्र नपरेकाले आवेदन नदिएको बताए । उनले पोखरामा ७ सय होटल रहेको र हाल क्वारेन्टिनमा सूचीकृत भएका २४ मध्ये ८ होटल मात्र सञ्चालनमा आएको जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया