विमानस्थलको प्रगति

समाधान संवाददाता २०७७ भदौ २९ गते ९:४५

सम्पादकीय

कोरोना भाइरसको महामारी रोक्न लकडाउन लाग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएन । विकासे आयोजनाको काम सामान्य अवस्था पनि नहुने नेपाली प्रवृत्ति र संस्कृतिका बीच यो एउटा उदाहरण भएको छ । अहिलेसम्म विमानस्थलको ६२ प्रतिशत काम भइसकेको छ र निर्धारित समयमै पूरा हुने विश्वास गरिएको छ ।

चिनियाँहरुले जिम्मा लिएका थुप्रै आयोजना यस्ता छन्, जो वर्षाैंदेखि डेग अघि बढेका छैनन्, तर पोखरा विमानस्थलमा भने त्यस्तो भएन । आयोजना जिम्मा लिएर सुरु नै नगरी बिक्री लमजुङको मस्र्याङ्दी हाइड्रो पावर विक्री गरेको दृष्टान्त थियो । अरु पनि उदाहरण छन् चिनियाँका हकमा । तर बेलामा काम नसके क्षतिपूर्ति दिनुपर्ने जस्तो सर्त हुनाले पनि होला पोखरा विमानस्थलको काममा चिनियाँ ठेकेदार कम्पनी सिएएमसीले धमाधम काम ग¥यो ।

Advertisement

कोरोना महामारी नआएको भए ६ महिनाअघि नै सम्पन्न हुने थियो विमानस्थलको काम । थुप्रै चिनिया कामदार अहिले पनि चीनबाट नेपाल आउन सकेका छैनन् । सम्भवत ती आउन पाएको भए भनिएभन्दा अघि नै यो आयोजना पूरा हुन्थ्यो पनि होला । यो आयोजना पूरा गर्नुपर्ने निर्धारित समयचाहिँ सन् २०२१ को जुन महिना हो । त्यतिमै सकियो भने पनि धन्य नै मान्नुपर्छ ।

पोखराको अर्थतन्त्रलाई आयोजनाका रुपमा लिइएको विमानस्थल बेलामा बन्नु भनेको आफैंमा स्वागतयोग्य कुरा हुँदै हो । यसले अरु आयोजनाहरु पनि बेलामा सक्न सकिन्छ भन्ने अर्काे शिक्षा नेपाल सरकारलाई र प्रदेश अनि स्थानीय सरकारलाई दिएको हुनुपर्छ । यो विमानस्थलबाट विकासे आयोजनाको काम नभएर पुँजीगत खर्च गर्न नसकेको सरकारले लिने शिक्षा यो हो ।

Advertisement

उपल्लो तामाकोसा हाइड्रो पावरको काम २ प्रतिशत बाँकी छ भनेको वर्ष दिन पुग्न आँट्यो, तर पूरा भएको छैन । मेलम्ची खानेपानी आयोजना पनि बिटमात्रै बाँकी भन्दाभन्दै झन्झन् पर धकेलिएको धकेलियै छ । यस्तो हालत किन भइरहेको छ र पोखरा विमानस्थलको काम कसरी चिनियाहरुले बेलामा सक्दैछन्, अनुसन्धान गरी नेपालीले व्यवहारमा लागु गर्नुपर्छ ।

पोखरा विमानस्थल निर्माणका क्रममा सरकारले स्थानीयलाई भने नराम्ररी पेलेको छ, मुआब्जामा । उड्डयन मन्त्री योगेश भट्टराईले मुआब्जा पाउनले अरुको भन्दा राम्रो घर घडेरी किन्न सक्ने बताएका थिए पोखरामा केही महिनाअघि । तर उनको बोली हावामा उडेर गयो र सरकारले पछिल्लो समय कौडीको भाउ गरेर अनि छलकपटपूर्ण तरिकाले मुआब्जा निर्धारण गरी थुप्रैको उठिबास लगाएको छ ।

यस्तो सामाजिक पक्षचाहिँ सरकारले हेर्दैन भने यस्ता विकास आयोजना जति बने पनि अर्थ छैन । विकासे आयोजना बनाउने नाममा एउटा नेपालीले पनि अन्याय सहन नपरोस् । कसैको सपनालाई माटोमुनि पुरेर जहाज उडाउनु वा अर्काे कुनै खाले विकासे काम गर्नुको अर्थ हुँदैन, पाप हुन्छ । यस्तो पाप मोचन गर्न पर्यटनमन्त्री योगेश भट्टराईलाई गारो छ ।

भौतिकवादी हुनुको नाताले पाप र धर्ममा उनलाई विश्वास छैन भने पनि जनताको कसम खाएर उनले आफूले बोलेको बचन पूरा गर्नुपथ्र्याे । त्यो मामलामा उनी झुठ सावित भएका छन् ।

तपाईको प्रतिक्रिया