यो दसैंमा पोखरेलीको भान्सामा पाक्ने छैन तिब्बती च्यांग्रा

समाधान संवाददाता २०७७ असोज १२ गते २१:२७

अनुप आत्रेय
पोखरा, १२ असोज

पोखरामा तिब्बतबाट भेडाच्यांग्रा ल्याइने गरेकोमा यो वर्ष आयात नहुने भएको छ । कोरोना भाइरसको डरले सीमानामा गरिएको कडाइले गर्दा यो दसैंमा पोखरेलीले तिब्बती भेडाच्यांग्राको स्वाद नपाउने भएका हुन् ।

तिब्बतबाट यस वर्ष भेडा च्यांग्रा नआउने भएपछि मुस्ताङ, डोल्पा, मुगु, दार्चुला लगायत ठाउँका भेडा च्यांग्राले बजार पाउने खसीबोका व्यवसायी समिति पोखराका निर्वतमान अध्यक्ष गोकर्ण भण्डारीले बताए । ‘गत वर्षहरुमा २५ प्रतिशत च्यांग्रा तिब्बतबाट आउँथे । यो वर्ष नआउने भए । तर स्वदेशी च्यांग्राले मागचाहिँ धान्छ,’ उनले भने ।

Advertisement

लकडाउन अघिसम्म पोखरामा दैनिक २ सय ५० वटासम्म खसी काटिन्थ्यो । अहिले एउटा व्यापारीले खसी काट्यो भने त्यो ३ दिनमा बल्लबल्ल बिक्छ । खसीमात्रै होइन, कुखुरा पनि त्यस्तै छ ।

‘अहिले मासुको व्यापार गत वर्षको तुलनामा ३५ प्रतिशत पनि छैन,’ मासु व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारी भन्छन्, ‘घरमा खान कुखुराको मासु लैजान्छन् । अहिले एउटा खसी काट्दा ३ दिन पुग्छ । खाने मान्छे नै छैनन् ।’

Advertisement

लकडाउनमा गाउँ गएकाहरु उतै रहेको र चाडपर्व मान्न अधिकांश पोखरेली गाउँ फर्किने भएकाले मासुको खपत कम हुने तिवारीले सुनाए ।

‘विद्यालय खुलेका छैनन । कतिका केटाकेटी गाउँमा छन् । जागिर भएकाहरु केटाकेटी उतै भएकाले फर्किन्छन् । त्यसले गर्दा पनि यो दसैंमा मासुको व्यापार कम हुन्छ,’ तिवारी भन्छन्, ‘गाउँमा पनि बाख्रा पाल्ने किसान बढेकाले मासुकै लागि बजार झर्ने अवस्था रहँदैन ।’

लकडाउन अघिसम्म पोखरामा दैनिक ७० हजार केजी कुखुराको मासु खपत हुन्थ्यो । अहिले कुखुराको मासुको माग ५० प्रतिशत कम भएको छ।

सामान्य बेला पोखराको खसीबजारमा महिनामा १० हजार खसीबोका भित्रिने गरेको तथ्यांक छ । दसैं र तिहारको १ महिनामा ३० हजार खसीबोका खपत हुँदै आएको थियो । चाडपर्वमा हिमाली भेगबाट झारिने भेडाच्यांग्रा पनि यो वर्ष कम झर्ने भएको छ ।

हिमाली जडिबुटी खाने र मासु स्वादिलो हुने भएकाले दसैंमा बेसी झर्ने च्यांग्रा निकै रुचाइन्छ । च्यांग्रा लिन कास्की, स्याङ्जा, बाग्लुङ, काठमाडौं लगायत जिल्लाका व्यवसायी मुस्ताङ पुग्ने गरेका छन् ।

मुस्ताङबाट हिँडाएर र ट्रकमा हालेर च्यांग्रा पोखरा ल्याइने गरेको छ । ट्रकमा हालेर ल्याउँदा निस्सासिएर मर्ने भएकाले धेरैजसोले चाहिँ १० देखि १५ दिन हिँडाएरै च्यांग्रा पोखरा ल्याउँछन् ।

‘पहिला २५ हजार भेडाच्यांग्रा र ३० हजार खसीबोका आएको थियो । अहिले खाने मान्छे छैनन् । त्यसैले धेरै ल्यएर काम पनि छैन,’ खसीबोका व्यवसायी समिति पोखराका निर्वतमान अध्यक्ष गोकर्ण भण्डारीले भने ।

यसपालि मासु व्यवसायीमा विगतको दसैंतिहारमा जस्तो उत्साह छैन । यो वर्ष पोखरामा कति खसीबोका र च्यांग्रा भित्रिन्छ भन्ने यकीन भइनसकेको खसीबोका व्यवसायी समिति पोखराका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । ‘कति आउँछ भन्ने डाटा बनाइँदै छ,’ उनले भने ।

गत वर्ष प्रतिकेजी १५ सयमा बेचिएको च्यांग्रा यो वर्ष ३ सय रुपैयाँसम्म बढी पर्ने भएको छ । ‘पहिलाको भन्दा अहिले ६ देखि ८ हजार महँगो भएको छ । राम्रो च्यांग्रा ३५ देखि ४० हजार पर्छ,’ भण्डारीले भने,

‘मुस्ताङबाट म्याग्दीसम्म एउटा व्यापारीले ल्याउँछ । त्यहाँबाट अर्कोले ल्याउँदा व्यापरिको च्यानल बढ्छ । त्यसले मूल्य बढाउँछ ।’

खसीबोकाको मूल्य पनि २० देखि २५ हजार पर्नेछ । ‘अहिले केजीको ६ सय ३० रुपैयाँ छ । लोकल खसीबोका भ्याइयो । इन्डियन आइपुगेको छैन । दसैंमा ७ सय हाराहारी होला,’ उनले भने ।

पोखरामा नेपालगन्ज, सुर्खेत, दाङ, धनगढी लगायत ठाउँबाट खसीबोका ल्याइने गरेको छ । मुस्ताङबाट सबैभन्दा बढी च्यांग्रा झारिने गरेकोमा यो वर्ष व्यवसायीलाई पहिलाको जस्तो सहज छैन । बाहिरबाट जाने व्यवसायीले मनपरी ढंगले डुलेर खरिद गर्न पाउन छैनन् ।

मुस्ताङ पुग्ने व्यवसायीले सम्बन्धित च्यांग्रा धनीमार्फत वडाध्यक्षलाई सम्पर्क गर्नुपर्ने मुस्ताङका सहायक सिडिओ जगदीश अर्यालले बताए ।

‘१४ दिन क्वारेन्टाइन बस्न व्यवसायीलाई कति सहज हुन्छ । यहाँ होटल पनि राम्रोसँग खुलिसकेका छैनन् । आएर सम्बन्धित धनी वा वडाध्यक्षलाई जानकारी गराउनुभयो भने इन्ट्रीलाई कुनै रोकावट छैन,’ उनले भने ।

दसैं नजिकिएसँगै च्यांग्रा किन्न जिल्ला भित्रिने व्यापारीको संख्या पनि बढिरहेको सहायक सिडिओ अर्यालले बताए ।

‘१५/२० जना व्यापारी यहाँ आइसक्नु भएको छ । आउने क्रम पनि बढ्दो छ,’ उनले भने, ‘नेपाल–चीन बोर्डर बन्द भएकाले तिब्बतबाट यो वर्ष च्यांग्रा आउँदैन । मुस्ताङसँग सीमा जोडिएका डोल्पाका केही गाउँबाट च्यांग्रा आउन सक्छन् ।’

तपाईको प्रतिक्रिया