खपौंदीमा फेवा किसान बजार

समाधान संवाददाता २०७७ असोज १७ गते १८:४५

समाधान संवाददाता, पोखरा

स्थानीयको अग्रसरता र पोखरा महानगरको सहयोगमा पोखरा–१८ खपौंदीमा फेवा किसान बजार खुलेको छ । कृषकहरुले उत्पादन गरेका उपभोग्य वस्तु सहज र सिधा उपभोक्तासम्म पुर्‍याउन महानगरपालिकाको सहयोग र स्थानीय कृषकसँगको साझेदारीमा बजार सञ्चालनमा आएको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले शुक्रबार बजारको उद्घाटन गरे । प्रमुख जिसीले कृषि क्षेत्र सशक्त पेसा र महत्वपूर्ण व्यवसाय भएको चर्चा गर्दै उपभोक्ताहरुको माग अनुसारका कृषि उपज उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

Advertisement

‘स्थानीय तथा अर्गानिक उत्पादनप्रति जसरी उपभोक्ताहरुको चासो बढेको छ, त्यही रुपमा अहिले कृषि उपज बजारमा आउन सकेको छैन,’ उनले भने ।

जिसीले फेवा किसान बजारले उपभोक्ताको माग अनुसार वस्तुहरुको बिक्री गर्न सक्नुपर्ने बताए । प्रमुख जिसीले करोडौं रकम बाहिरिनबाट जोगाउनका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।

Advertisement

‘यहाँ उत्पादन हुने वस्तु सकेसम्म बाहिरबाट आयात नगर्ने महानगरको नीति हो,’ उनले भने ।

पोखराको लेखनाथस्थित तालचोक, बिरौटा, काहुँखोला, बाटुलेचौर लगायतका स्थानमा यस किसिमका बजारहरु सञ्चालनमा आइसकेको जानकारी दिँदै उनले कृषक र उपभोक्तालाई सीधा व्यापारमा जोड्ने महानगरको उद्देश्य रहेको बताए । मेयर जिसीले व्यावसायिक कृषकहरुले कृषि विमाको सुविधा प्रयोग गर्नुपर्नेमा पनि जोड दिए ।

महानगरका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकहरु बिचौलियाका कारण पीडित भएकाले यस्तो बजारको कल्पना गरिएको बताए । पोखराको वडा नम्बर १८, २३ र २४ का कृषकहरुलाई लक्ष्य गरी बिक्री केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

उत्पादनले बजार नपाएको भनेर कृषकहरुले सधै गरिरहने गुनासो केहि हदसम्म सम्बोधन हुने कडरियाको विश्वास छ । कृषकले गरेको उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिने उनले बताए ।

पोखरा महानगरको लोगोसहितको प्याकेजिङ र ब्रान्डिङ गरी कृषि उपज बिक्री गरिने उनको भनाइ थियो । कडरियाका अनुसार साना कृषकहरुसँग साझेदारी गरेर पोखराको चिप्लेढुंगास्थित श्री कम्पलेक्समा कृषि उपज पु¥याउने व्यवस्था महानगरले गर्नेछ ।

किसान बजारमा स्थानीय उत्पादनहरु, पोखरेली जेठोबुढो, विभिन्न तरकारी, विभिन्न व्यवसायिक फर्महरुबाट उत्पादिन उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएका छन् ।

सोही अवसरमा फेवातालमा माछाका भुराहरु छोडिएको छ, विभिन्न प्रजातिका १५ हजार माछाका भुरा तालमा छाडिएको हो । महानगर प्रमुख मानबहादुर जिसी, पोखरा महानगर वडा नं १८ का अध्यक्ष रणबहादुर थापा, वडा नं ६ का अध्यक्ष जगतबहादुर पहारी, कृषि महाशाखा प्रमुख मनहर कडरिया लगायतले भुरा तालमा छाडेका हुन् ।

तपाईको प्रतिक्रिया