जिएमसीमा उपचाररतसहित गण्डकीमा २ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ असोज २४ गते १२:५७
Gandaki Medical College. Photo: GMC

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा र नवलपुरका १/१ संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिका ६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षे वृद्ध र नवलपुरको गैंडाकोट नगरपालिका १ का ३६ वर्षे पुरुषको मृत्यु भएको हो ।

Advertisement

स्याङ्जाका संक्रमितको पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । नवलपुरका संक्रमितको चितवनस्थित कलेज अफ मेडिकल साइन्समा उपचारकै क्रममा ज्यान गएको हो ।

स्याङ्जाका पुरुषको शुक्रबार राति साढे ११ बजे र नवलपुरका संक्रमितको शुक्रबार दिउँसो ३ः५५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

स्याङ्जाका मृतकमा मृगौला र मुटुको समस्यासँगै पिसाबमा पनि संक्रमण थियो । नवलपुरका मृतकको भने एक्कासि मुटुले काम गर्न छोडेको र रक्तचाप कम हुँदा रगतमा संक्रमण बढेको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया