गण्डकीमा कोरोनाः १४ दिनमा थपिए कुलमध्ये २५ प्रतिशत संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक १४ गते १९:५२

अनुप आत्रेय, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारमात्रै ९ जिल्लाका २ सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

यो हालसम्मकै उच्च संक्रमण दर हो । ९ सय ३४ स्वाब परीक्षण गर्दा २ सय ६९ (२८.८० प्रतिशत) मा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

पछिल्लो १५ दिनमा १८ सय १५ संक्रमित थपिएका छन् । यो कुल संक्रमणको २४.८० प्रतिशत हो । संक्रमण दरको हिसाबले कास्की ‘रेड जोन’ मा छ ।

निर्देशनालयका अनुसार प्रदेशमा दैनिक भेटिनेमध्ये आधाभन्दा बढी संक्रमित कास्कीका छन् ।

Advertisement

बुधबार २ सय ६९ जनामा पोजेटिभ देखिँदा १ सय ८३ (६८.०२ प्रतिशत) जना कास्कीका रहेको निर्देशनालयले जनाएको छ ।

शुक्रबार साँझसम्म कास्कीका २३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ७ सय ४० जना निको भएका छन् ।

निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीपछि नवलपुरमा धेरै संक्रमित छन् ।

नवलपुरका १६ सय ६३ जनामा पोजेटिभ देखिएकोमा ११ सय २ संक्रमित निको भएका छन् । शुक्रबार नवलपुरका २७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कास्की र नवलपुरबाहेक शुक्रबार तनहुँमा २१, पर्वतमा १०, बागलुङमा ९, स्याङ्जामा ७, बागलुङ, गोरखा र म्याग्दीमा ४/४ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशका ११ मध्ये मनाङमात्रै कोरोनामुक्त छ । ९ संक्रमित निको भएपछि मनाङ ग्रीन जोनमा छ । प्रदेशमा सबैभन्दा कम मुस्ताङमा २ जनामा पोजेटिभ देखिएको छ ।

जिल्ला नछोडेकी जोमसोम बस्ने ३८ वर्षे महिलामा गत बुधबार कोरोना पुष्टि भएपछि ४ महिनादेखि कोरोनामुक्त रहेको मुस्ताङमा कोरोना संक्रमणको त्रास बढेको छ ।

यसअघि ६ असारमा ८३ वर्षे वृद्धलाई कोरोना पोजेटिभ देखिएकोमा उनी निको भएपछि मुस्ताङमा संक्रमित भेटिएका थिएनन् ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७३ सय १६ पुगेको छ । तीमध्ये ४२ सय २१ (५८.२९ प्रतिशत) निको भएका छन् ।

गण्डकी प्रदेशमा ८८ हजार ६ सय ४६ स्वाब परीक्षण गरिएको छ । गण्डकी प्रदेशमा २ सरकारी र १ निजी गरी ३ वटा ल्याबमा कोरोना परीक्षण हुन्छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफकेयर डाइग्नोस्टिकमा कोरोना परीक्षण भइरहेको छ । केही जिल्लाको स्वाब प्रदेशबाहिरका ल्याबमा पठाउने गरिएको छ ।

प्रतिष्ठानमा चैत तेस्रो हप्तादेखि र क्षयरोग उपचार केन्द्रमा असार पहिलो हप्तादेखि कोरोना परीक्षण सुरु गरिएको हो । लाइफकेयरले भने २ हप्ताअघिदेखि परीक्षण थालेको हो ।

३ संक्रमितको मृत्यु पुष्टि

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार ३ जिल्लाका ३ संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७५ पुगेको हो ।

निर्देशनालयले बागलुङ, स्याङ्जा र कास्कीका १÷१ संक्रमितको मृत्यु पुष्टि गरेको हो । बागलुङका संक्रमितको बिहीबार साँझ र अरु २ जनाको शुक्रबार मृत्यु भएको हो ।

बागलुङको गलकोट नगरपालिका–३ का ७२ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका ५ कि ७० वर्षीया महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

बागलुङका संक्रमितमा रक्तअल्पता तथा क्षयरोगको समस्या थियो । स्याङ्जाका संक्रमित महिला निमोनिया र उच्च रक्तचापबाट ग्रस्त थिइन् । दुवैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा ज्यान गएको हो ।

कास्कीका संक्रमितको भने घरमै मृत्यु भएको हो ।

पोखरा महानगरपालिका १५ का ८० वर्षीय पुरुष संक्रमितको शुक्रबार बिहान होम आइसोलेसनमा मृत्यु भएको निर्देशक शर्माले जानकारी दिए । उनलाई १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका २५, नवलपुरका १४, तनहुँका १२, गोरखाका ८, स्याङ्जाका ६, बागलुङका ४, लमजुङका ३, म्याग्दीका २ र पर्वतका १ जना छन् ।

तपाईको प्रतिक्रिया