पोउवा संघका अध्यक्ष र महासचिवमा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ कार्तिक १६ गते १९:२९

समाधान संवाददाता
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आफ्ना दाइ धर्मराज अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनले स्वाब दिएका थिए । आइतबार उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

अधिकारीसँगै घरका अन्य ६ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । उनकी छोरी, धर्मराज अधिकारीको २ छोरी, ब्यवसायी तथा साईंला दाई केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूहरुको अवस्था सामान्य रहेको र घरमै स्वास्थ्यलाभ गरिहेको अधिकारीले बताएका छन् ।

Advertisement

अधिकारीले उद्योगी÷व्यवसायीहरुलाई सुरक्षित रहेर सुरक्षाका प्रबन्धसहित व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।

कोरोना जोखिमबाट बच्नु नै अहिलेको पहिलो आवश्यकता भएको अधिकारीको तर्क छ ।

Advertisement

‘मान्छेको जीवनभन्दा ठूलो केही हुँदैन, त्यसैले व्यापार गर्दा सुरक्षाका मापदण्ड पूरा गर्न म संघका सदस्य तथा आम व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु ।’ अधिकारीले भने ।

उनले दसैं भर्खर सकिएको र तिहार आउँदै गरेको सन्दर्भमा महामारीको जोखिमलाई नजरअन्दाज नगर्न सर्वसाधारणलाई पनि आग्रह गरे ।

अध्यक्ष अधिकारीले समुदायमा फैलिएको संक्रमण तथा स्वास्थ्यका पूर्वाधारहरुप्रति गम्भीर बन्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग अपील गरेका छन् ।

‘कोरोनाको औषधी बनेको छैन, सामाजिक दूरी कायम गर्नु नागरिकको कर्तव्य हो भने स्वास्थ्यका पूर्वाधारको जोहो र पीसीआर परीक्षणको दायरा बढाउनु सरकारको जिम्मेवारी हो,’ उनले भने, ‘सरकार आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्नैपर्छ ।’

उनले लकडाउन र निषेधाज्ञाका कारण थला परेको निजी क्षेत्रका समस्याप्रति गम्भीर बन्दै घोषित राहतका कार्यक्रमहरु तत्काल लागु गर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।

यस्तै पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कोरोना पुष्टि भएको बताएका छन् ।

‘ढिलोचाँडो एक दिन कोरोना संक्रमण अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म अछुतो रहिन,’ उनले लेखेका छन्, ‘लक्षण देखिए पछि १० दिनदेखि होम आइसोलेसनमा भएकाले कोहिसँगपनि सम्पर्कमा छैन ।’

पोखरेलले कोरोना संक्रमित हुनु पाप नभएकाले संक्रमितलाई सम्मान गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया