शुक्लागण्डकीको बजार क्षेत्रमा लकडाउन घोषणा

समाधान संवाददाता २०७७ कार्तिक १९ गते २२:०३

दमाैली

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ ।

बुधबार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधबार राति १२ बजेदेखि आगामी मङ्गलबार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो ।

यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक सङ्घसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ । “पूर्व निर्धारित कक्षा ११ को परीक्षा भने सञ्चालन हुनेछ । परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ,” प्रवक्ता कुमालले भन्नुभयो ।

नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्कन नगरबासीलाई सचेत गराएको छ । मास्क लगाउने, समूहमा हिँडडुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन भनिएको छ ।

Advertisement

शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको सङ्क्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठिरहेको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्लागण्डकीमा १४६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक सय १० जना कोरोनामुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ छ भने दुई जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । उता जिल्लाकै म्याग्दे गाउँपालिका पनि मङ्गलबारदेखि बन्द रहेको छ ।

कर्मचारी र जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसँगै सेवा प्रदायक संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द छन् । रासस

तपाईको प्रतिक्रिया