६१ हजार बागलुङबासीको स्वास्थ्य बीमा

समाधान संवाददाता २०७७ कार्तिक ३० गते १२:००

गलकोट, रासस

नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत लागु गरेको स्वास्थ्य बीमामा बागलुङका ६१ हजारभन्दा बढी नागरिक आबद्ध भएका छन् ।

बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिए ।

Advertisement

कोरोना कहरका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोरोनाका कारण शुरुको अवस्थामा नागरिकहरु उपचार तथा औषधि लिन अस्पताल तथा स्वाथ्यचौकी नआए पनि पछिल्लो समय सेवा लिने क्रम केही बढ्न थालेको छ ।

शर्माका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको छ ।

Advertisement

कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा रहेको छ ।

७० हजारभन्दा बढी स्वास्थ्य बीमामा आबद्ध भइसक्नुपर्ने अवस्थामा कोरोनाका कारण घरघरमा स्वास्थ्य बीमा गराउन जान समस्या भएपछि लक्ष्यअनुसार बीमा गर्नेको सङ्ख्या बढाउन नसकेको शर्माको भनाइ छ ।

जिल्लामा शुरुआत भएको स्वास्थ्य बीमामा सबै वर्ग बीमामा आबद्ध भएका छन् । बीमा गरेपछि निजी क्लिनिक जाने बिरामी सरकारी अस्पताल, स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदासाथ आम सर्वसाधारण जनता अनभिज्ञ भए पनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताइन् ।

स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७० जना दर्ता सहयोगीले घरघरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । सबै नागरिकलाई बीमामा आबद्ध गर्ने गरी आफ्नो वडामा सचेतनामूलक कार्यक्रमसँगै आफू घरदैलो कार्यक्रममा समेत हिँड्ने गरेको बागलुङ–४ का वडाध्यक्ष ध्रुव केसीले जानकारी दिए ।

पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाई बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रु एक लाखसम्म उपचार खर्च निःशुल्क हुने नीति छ ।

तपाईको प्रतिक्रिया