‘शिल्पी’ होइनन् दलितहरू

समाधान संवाददाता २०७७ मंसिर १० गते ११:४८

शास्त्रमा विश्वकर्मा सम्मानित थिए भन्दैमा आजको विश्वकर्मा थर राख्ने कामीलाई स्वतः सम्मान प्राप्त हुँदैन, बरु उसले आजकै परिचयअनुसार संघर्ष गर्नुपर्ने हुन्छ

आहुति

पहिलो कुरा, दलित यदि कसैले अपमानजनक रूपमा गरेको सम्बोधन हुन्थ्यो भने त्यस परिचयलाई परिवर्तन गर्नका निम्ति अन्य शब्दको खोजी मनासिब नै हुन सक्दथ्यो ।

Advertisement

तर, स्पष्टै भएको कुरा हो— दलित कुनै अपमानका निम्ति प्रयोग भएको शब्द होइन ।

त्यसकारण लामो समय संघर्ष गरेर विभिन्न भाषिक समुदाय र जातिमा छरिएका दलितहरूलाई एउटै परिचयमा सम्बोधन गर्न सकिने गरी दलित शब्द स्थापित भइसकेको सन्दर्भमा वर्षौं लगाएर स्थापित भइसकेको शब्दलाई छाडेर नयाँ शब्द फेरि वर्षौं लगाएर स्थापित गर्न लागिपर्नु समयको बर्बादी हो र यो बुद्धिमतापूर्ण काम होइन ।

Advertisement

दोस्रो कुरा, ‘शिल्पी’ शब्दले दलितभित्र रहेका सबै जातको सही प्रतिविम्बन गर्दैन ।

दलितभित्र विज्ञान–प्रविधिमा काम गर्ने कामी, प्रविधिका काम गर्ने चमार, सार्की, दमाईलगायत वैज्ञानिक–प्राविधिक छन् । त्यसैगरी, संगीतमा काम गर्ने गन्धर्व, वादी, दमाईलगायत सर्जक समुदाय पनि छन्, जुन मूलतः शिल्पकारिता होइन ।

बस्तीमा चौकीदारी गर्ने परम्परागत पेशाका दुसाध, खेतीयोग्य भूमिको निर्माण गर्ने मुसहरजस्ता जात पनि छन्, जुन शिल्पकारिता होइन, बरु सेवा र उत्पादनकार्यसँग जोडिएका परम्परागत पेशा हुन् ।

अनि, डोम, हलखोर, च्यामे, पोडेजस्ता जात पनि छन्, जो मूलतः सेवा क्षेत्रमा छन् । दलितको सट्टा शिल्पी शब्द प्रयोग गर्ने हो भने विज्ञान–प्रविधिजस्तो क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई शिल्पकार मात्रै बुझ्नुपर्ने हुन्छ ।

अनि, सफाइजस्तो सेवाजन्य काम गर्नेलाई पनि शिल्पकार मान्नुपर्ने हुन्छ । यो कुरा बिलकुलै गलत हुन जान्छ । एउटा अर्को पक्ष पनि छ, नेवार जातिभित्र शिल्पकार नामको एउटा जात नै छ, जसले आफूलाई अरनिकोको सन्तति दाबी गर्छ ।

ऊ कहिल्यै पनि पानी अचल थिएन र छैन । यी सबै अवस्थाका कारणले शिल्पी शब्दले दलित शब्दको घनत्व, ऐतिहासिकता र ठोस अर्थलाई विस्थापन गर्न सक्दैन र दलितको सही परिचयको आयामलाई समेट्न सक्दैन ।

शिल्पकारिता भनेको केवल हस्तकलाजन्य काम हो, तर दलित चाहिँ विज्ञान–प्रविधिदेखि तमाम क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । त्यसैले उनीहरू केवल शिल्पी होइनन् ।

तेस्रो कुरा, कतिपयले यस्तो तर्क पनि गर्ने गरेका छन्, हिन्दु शास्त्रका कतिपय सन्दर्भमा त्यतिबेलाका प्राविधिक वा सिर्जनशील कतिपय पात्र वा समुदायलाई शिल्पी शब्द प्रयोग भएका छन् ।

आजका दलित तिनै शास्त्रका पात्रहरूका सन्तति समुदाय हुन्, त्यसैले उनीहरूलाई शिल्पी भन्नुपर्छ ।

हामीले कुनै शब्द किन र के कारणले प्रयोग गर्ने भन्ने कुरा कुनै शास्त्रमा रचिएको मिथकका आधारमा खोज्न थाल्ने कि, आजको संघर्ष अगाडि बढाउनका लागि कुन शब्दले तत्काल सबैलाई समेट्न र परिचालन गर्न सजिलो हुन्छ भनेर सोच्ने ?

शास्त्रहरूमा शिल्पी भनेर ज–जसलाई सम्बोधन गरिएको पाइन्छ, ती सबै पात्र मूलतः सवर्ण पात्र हुन् । उनीहरू अधिकांश न त शूद्रभित्रका हुन्, न त पञ्चम वर्ण वा अछुतभित्रका !

आजका दलितका पुर्खा अछुत बनाइनुभन्दा पहिले कोही राजा थिए होलान्, कोही ऋषि थिए होलान्, कोही समाजका अत्यन्तै प्रतिष्ठित मान्छे थिए होलान्, या समाजका नकारात्मक पात्र थिए होलान्, त्यसले उनीहरूलाई अछुत बनाइसकेपछि खास अर्थ राख्दैन ।

खास अर्थ त पानी अचल बनाइसकेपछि त्यसका विरुद्ध संघर्ष गर्न चालिएका कदम र संघर्ष गर्दा निर्माण भएको परिचयले नै वर्तमानमा आवश्यक अर्थ राख्छ ।

त्यसकारण चार हजार वर्षअगाडि दलितका पुर्खा कस्ता थिए, उनीहरूलाई के भनिन्थ्यो भन्ने कुरा इतिहास अध्ययनका निम्ति त काम लाग्छ, तर त्यसले आजको संघर्ष अगाडि बढाउन काम दिँदैन ।

शास्त्रमा विश्वकर्मा सम्मानित थिए भन्दैमा आजको विश्वकर्मा थर राख्ने कामीलाई स्वतः सम्मान प्राप्त हुँदैन, बरु उसले आफ्नो मुक्तिका निम्ति आजकै सन्दर्भमा आजकै परिचयअनुसार संघर्ष गर्नुपर्ने हुन्छ ।

आजको सन्दर्भमा सबै भाषी र सबै क्षेत्रमा विभक्त दलितलाई एकत्रित गराउन दलित शब्द नै उपयुक्त भइसकेको छ ।

चौथो कुरा, दलित आन्दोलन र दलित शब्दको इतिहास गहिराइमा अध्ययन गर्न नभ्याएका कतिपय राजनीतिक पार्टीका गैरदलित समुदायबाट विकसित भएका नेताले नियत राम्रो राखेर दलित शब्दको सट्टा शिल्पी प्रयोग गर्न प्रस्ताव गरेको देखिन्छ ।

उनीहरूको बुझाइमा अछुत र दलित पर्यायवाची शब्द हुन् भन्ने भ्रमले काम गरेको छ । शासकहरूले अपमानित गरेर गरेको सम्बोधन अछुत हो भने दलित चाहिं आन्दोलनबाट निर्मित गौरवमय परिचय हो ।

यति कुरालाई मात्रै ध्यान दिन सक्दा पनि त्यो ‘शिल्पी’ प्रस्ताव अहिलेको आवश्यक प्रस्ताव होइन भन्ने प्रस्टै हुन्छ ।

कतिपयले शब्दकोशमा दलितको अर्थ हेपिएको, दलिएको, छियाछिया पारिएको लेखिएका हुनाले पनि ठीक परिचय भएन भन्ने गरेको पाइन्छ ।

शब्दकोशकै कुरा गर्ने हो भने अहिले पनि जनजाति शब्दको अर्थ के छ त ? खोरिया फाँडेर बस्ने, जंगली, अविकसित आदि छ । तर, के आजको समाजमा जनजाति भन्नाले आम मानिसले त्यही बुझ्छन् त ? बुझ्दैनन् ।

बरु आफ्नो भाषा, संस्कृति, भूमिथलो, आर्थिक र राजनीतिक अधिकारका निम्ति लडिरहेका जातिहरू भनेर बुझ्छन् । यो नयाँ परिचय जनजाति आन्दोलनले निर्माण गरेको हो ।

शब्दकोशमा पुरानै अर्थ मात्रै राखिरहनु र जनजाति आन्दोलनले निर्माण गरेको जनजाति शब्दको नयाँ गौरवमय अर्थ शब्दकोशमा नसमेट्नु शब्दकोश निर्माता र राज्यको बेइमानी हो ।

आफ्नो बारेमा आफ्नो आन्दोलनले निर्माण गरेको नयाँ गौरवमय शब्दको अर्थलाई शब्दकोशमा समावेश गर्नका निम्ति जनजाति आन्दोलनले पहल नगर्नु जनजाति आन्दोलनको कमजोरी पनि हो । तर, जनजाति शब्दको अर्थ पुरानो शब्दकोशमा बताएजस्तो चाहिं आज कदापि होइन ।

ठीक त्यसरी नै, शब्दकोशमा दलित शब्दको अर्थ जे लेखिएको भए पनि दक्षिण एसियाको दलित आन्दोलनले दलित शब्दको नयाँ र गौरवमय अर्थ निर्माण गरिसकेको छ ।

यो नयाँ र गौरवमय अर्थलाई शब्दकोशमा नसमेट्नु शब्दकोश निर्माता र राज्यको बेइमानी हो । साथै, आफ्नो आन्दोलनले निर्माण गरेको दलित शब्दको नयाँ अर्थलाई शब्दकोशमा समावेश गराउन दलित आन्दोलनले पहल गर्न नसक्नु आन्दोलनको कमजोरी मात्र हो ।

अब निर्माण हुने शब्दकोशमा दलित शब्दको नयाँ गौरवमय अर्थ लेखिनुपर्छ ।

पाँचौं कुरा, थुप्रै युवालाई लाग्ने गरेको छ— दलित भनिरहेसम्म त दलित अवस्था रहिरहने भयो । त्यसैले दलित शब्द छाड्नुपर्छ कि ! २०२४ सालभन्दा अगाडि नेपालमा दलित भनिंदैनथ्यो । त्यसले के जनाउँछ ?

दलितहरूको जीवन सम्मानित थियो ? उनीहरूका मुद्दा समाधान हुने दिशामा थिए ? पक्कै थिएनन् । दलित भनेर दलित अवस्था बनेको होइन, रहेको होइन । त्यसको सट्टा दलित अवस्था रहिरहने र पुनरुत्पादन भइरहने आर्थिक, राजनीतिक र सांस्कृतिक परिपाटी जीवित भएकाले दलित अवस्था रहिरहेको हो ।

जस्तो कि, विश्वकर्मा दलितले लेख्छन्, भारतमा एकथरी गैरदलितले लेख्छन् । नेपालमा विश्वकर्मा लेख्नेलाई भेदभाव गरिन्छ, त्यही शब्द लेख्नेलाई भारतमा गरिँदैन ।

यसको अर्थ हो— शब्द दोषी होइन, बरु त्यो शब्दलाई समाजले कसरी बुझ्ने संस्कृति÷विचार छ, त्यसको दोष हो ।

नेपालको मधेसी समाजमा रहेका लोहार पानी अचलभित्र पर्दैनन्, तर पहाडका लोहार दलितभित्र पर्छन् । परिचय दुवैले लोहार नै भन्छन् । किन यस्तो भयो त ? किनकि, मधेसी समाजमा र पहाडमा लोहारलाई हेर्ने दृष्टिकोण फरक–फरक छन् ।

जबसम्म समाजको गलत दृष्टिकोणको अन्त्य हुँदैन, तबसम्म शब्दहरू बदलेर यथार्थ परिवर्तन हुँदैन । परिस्थिति बदलिएपछि शब्द पुरानै भए पनि त्यसको अर्थ र त्यसबारेको सम्मानमा परिवर्तन आउँछ ।

जस्तै, नेवार जातिभित्रका मानन्धरहरूले जंगबहादुरको समयभन्दा अगाडि पनि आफ्नो थर मानन्धर वा साय्मि लेख्थे, आज पनि त्यही नै लेख्छन् । तर, जंगबहादुरको कालभन्दा अगाडि उनीहरूमाथि छुवाछुत हुन्थ्यो, आज हुँदैन ।

जंगबहादुरले उनीहरूको पानी चलाइदिएपछि आजसम्म आइपुग्दा हिजो मानन्धर र सायमि भन्दा समाजले जसरी बुझ्थ्यो, आज त्यही थर भन्दा सम्मानजनक बुझ्छ ।

यो कसरी सम्भव भयो त ? हिजो मानन्धर वा सायमि थरलाई अछुत बनाउने राजनीति थियो ।

जंगबहादुरले गरेको उनीहरूको पानी चलाइदिने राजनीतिले हस्तक्षेप गरेपछि त्यो शब्दलाई अपमान गर्ने राजनीतिक जग नै भत्कियो ।

तब त्यो शब्द वा थरको अर्थ नै सामाजिक रूपमा सम्मानित बन्न पुग्यो ।

(बेला पब्लिकेसन्सद्वारा हालै प्रकाशित ‘जात वार्ता’ पुस्तकको अंश)

तपाईको प्रतिक्रिया