गण्डकीमा थप ३ जनाको मृत्यु, ११९ संक्रमित थपिए

समाधान संवाददाता २०७७ मंसिर २० गते १९:२९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबै मृतक पोखराका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ पुरुषको शनिबार बिहान र १ महिलाको शुक्रबार राति मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा पोखरा महानगरपालिका १२ का ८० वर्षे वृद्ध, पोखरा १७ का ५७ वर्षे पुरुष र पोखरा ११ की ७२ वर्षे महिला छन् ।

पोखरा ११ र पोखरा १२ का संक्रमितको फिस्टेल अस्पतालमा मृत्यु भएको हो । अर्का संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

पोखरा १७ का मृतकमा निमोनिया, मधुमेह र पोखरा १२ का वृद्धमा निमोनियासँगै उच्च रक्तचापको समस्या थियो ।

अर्की महिलामा निमोनियाको समस्या थियो । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ९८ पुगेको छ । शनिबार १ सय १९ संक्रमित थपिएका छन् । ४ सय ७३ स्वाब परीक्षण गर्दा ९ जिल्लाका १ सय १९ जनामा कोरोना पुष्टि भएको हो ।

कास्कीका ५९, लमजुङका २१, बागलुङका १८, गोरखाका ७, तनहुँका ६, म्याग्दीका ३, पर्वत र मुस्ताङका २/२ र स्याङ्जाका १ जनामा पोजेटिभ देखिएको निर्देशक शर्माले जानकारी दिए ।

कुल संक्रमितमध्ये ७ हजार २ सय ९२ जना निको भएका छन् । प्रदेशमा हाल ५ हजार १ सय ४० सक्रिय संक्रमित छन् । तीमध्ये ३८ सय ६८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया