गण्डकीमा नेकपा संसदीय दलको छुट्टाछट्टै बैठक

समाधान संवाददाता २०७७ पुष १३ गते १२:५४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको दुवै पक्षका सांसदको छुट्टाछुट्टै बैठक बोलाएको छ । ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

प्रचण्ड नेपाल पक्षको बैठक अहिले चलिरहेको कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । ‘हामी अहिले बैठकमै छौं । सभामुखबाहेक १२ जना सहभागि हुनुहुन्छ,’ उनले भने ।

सभामुख नेत्रनाथ अधिकारी पदीय मर्यादाको हिसाबले बैठकमा सहभागी नभएका हुन् । ओली पक्षको प्रदेश कमिटिको बैठक अहिले चलिरहेको छ । त्यो सकिएपछि संसदीय दलको बैठक बस्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनको प्रभाव प्रदेशमा पनि देखिएको छ । आजको प्रदेश संसदीय दलको बैठक त्यसैको प्रभाव हो ।

प्रदेशमा जनमोर्चाको समर्थन पाएपछि ओली समूह बलियो देखिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउन १५ मत चाहिन्छ ।

गण्डकी प्रदेश सभामा १५ सदस्य भएको कांग्रेससँग मात्र अविश्वास ल्याउने एकल हैसियत छ । कांग्रेस तत्काल अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेकाले तत्काललाई मुख्यमन्त्री सुरक्षित छन् ।

गण्डकीमा नेकपा (ओली पक्ष) का २७ र प्रचण्ड–नेपाल पक्षका १३, राष्ट्रिय जनमोर्चाका ३ र जसपाका २ सांसद छन् ।

तपाईको प्रतिक्रिया