डा. उपेन्द्रको सुझावले फेरिएको बाटो

समाधान संवाददाता २०७७ पुष १५ गते १९:०१

म चमत्कारमा विश्वास गर्दिनँ । तर जीवनमा चमत्कार हुँदो रहेछ । ३० वर्षदेखि क्यान्सरको जीवित कोष मस्तिष्कमा बोकेर हिंडिरहेको छु ।

अनुप पौडेल, पोखरा

म्याग्दीका चन्द्रप्रकाश बानियाँ ३ महिना पहिला एकाएक चर्चामा आए । २०७६ सालको मदन पुरस्कार उनको उपन्यास ‘महारानी’ले पाएपछि चर्चा चुलियो ।

पहिल्यै ३ वटा पुस्तक लेखिसकेका उनी त्यतिञ्जेल गुमनाम थिए ।
साहित्यिक क्षेत्रमा पनि उनलाई चिन्ने सायदै थिए । तर जति चर्चा छ, त्यति नै छ उनको मनमा पीडा । धेरैलाई थाहा छैन, उनी ब्रेन ट्युमरका बिरामी हुन् । २०५० सालमा सांसद हुँदा बखत उनलाई ब्रेन ट्युमर देखिएको थियो ।

‘म चमत्कारमा विश्वास गर्दिनँ । तर जीवनमा चमत्कार हुँदो रहेछ,’ लेखक बानियाँ भन्छन्, ‘३० वर्षदेखि क्यान्सरको जीवित कोष मस्तिष्कमा बोकेर हिंडिरहेको छु । स्वस्थ छु । आफ्नो काम गरेकै छु ।’

बुढ्यौलीमा पनि साहित्यिक जोश भएका उनै बानियाँ पोखरामा जारी नवौं संस्करणको नेपाल लिट्रेचर फेस्टिभलको स्टेजमा मंगलबार उक्लिए । सहजकर्ता राजेन्द्रकुमार बानियाँले ब्रेन ट्युमरको प्रसंग र त्यसपछि राजनीति छाडेकोमा पछुतो भए/नभएको भन्दै प्रश्न सोधे ।

उनले आफूलाई कुनै पश्चताप नभएको जवाफ फर्काए । ‘बाँचेको छु । संसार देख्न पाइएको छ । राजनीतिमा अब्बल हुँदै गए मन्त्री भइन्थ्यो,’ उनले थपे, ‘त्यो भनेको गाली खाने नै हो । त्यसैले त्यो बाटो छोडेर अर्को बाटो हिंडेकोमा कुनै पछुतो छैन ।’

परिस्थति कस्तो बन्यो भने, बानियाँको उपचार गर्ने डाक्टर क्यान्सरकै कारण बिदा भए । ब्रेन ट्युमर देखिएपछि बानियाँको उपचार डा. उपेन्द्र देवकोटाले गरेका थिए । ‘म बाँचेकै छु । मेरो उपचार गर्ने र शान्त जीवन बिताउन सुझाउने डाक्टर बित्नुभो । यस्तो पनि हुँदो रहेछ,’ लेखक बानियाँ सुनाउँछन् ।

डा. देवकोटाको सुझावपछि उनी दोधारमा परे । अर्को वर्ष मध्यावधि निर्वाचन हुने भयो । अनि बानियाँ केही समय आराम गर्ने निर्णयमा पुगे । आराम गर्ने निधो गर्दै केही समयलाई राजनीति छोडेका उनी सधैंलाई त्यहाँबाट अलग्गिए ।

समयले उनलाई लेखक बनायो । पोखरामै बस्ने भए पनि पोखराले चिन्थेन । यहाँ हुने साहित्यिक जमघटमा पनि देखिँदैनथे, बानियाँ । पोखराका कमै साहित्यिकारले चिन्थे उनलाई । सहजकर्ता बानियाँले पोखरासँग जोडेर उनलाई प्रश्न गरे – महारानीले मदन पुरस्कार पाएपछि पोखराले कसरी बधाई दियो ?

बुढ्यौली स्वरमा उनी बोल्न थाले । ‘महारानी पुरस्कृत भयो । पोखरालाई हर्ष न विस्मातको स्थिति आयो । यो मान्छे को हो, कहाँ बस्छ भन्ने थाहै थिएन,’ लेखक बानियाँले प्रष्टयाउँदै थपे, ‘केही कार्यक्रममा साहित्य अनुरागीसँग चिनजान भयो । त्यसबाहेक म अझै पनि पोखराका लागि गुमनाम छु ।’

मदन पुरस्कार पाएपछि बानियाँसँग सुरुमा पृथ्वीनारायण क्याम्पसको नेपाली विभागले अन्तक्रिया गरेको थियो । जरोटुप्पो नामक साहित्यिक संस्थाले पनि पुस्तक परिचयात्मक कार्यक्रम ग¥यो । त्यसपछि उनी देश, विदेशमा भर्चुअल कुराकानी गर्न थाले । सहजकर्ता बानियाँले त्यही विषयलाई जोडेर अर्को प्रश्न सोधे – पहिलो पुस्तक (उपन्यास) मै चर्चा र प्रशंसा पाउनुभयो । तपाइँले गर्व गर्न मिल्दैन ?

रहर र अध्ययन दुई विषयलाई जोडेर लेखक बानियाँले जवाफ फर्काए । उनकै शब्दमा भन्ने हो भने रहर र अध्ययनले मान्छेलाई लेख्न प्रेरित गर्छ । रहर कालान्तरमा बानीमा परिणत हुन्छ ।

अर्को मान्छेले धेरै अध्ययन गरेपछि उसको मस्तिष्क भरिन्छ र छचल्किन्छ । उनले आफू दुवै कित्तामा नपर्ने सुनाए । ‘मैले १० वर्षसम्म केही पनि लेखिनँ । पुरस्कार पाउँदा खुसी नहुने को र ? म पनि एकदमै खुसी छु । सम्मान, पुरस्कार गौरव गर्ने चिज हो । गर्व गर्ने होइन,’ उनले भने ।

महारानीपछि पछिल्लोपटक उनको भौंज्याहा निबन्ध संग्रह प्रकाशित भएको छ । तर त्यसको चर्चा छैन । आफूले दुवै पुस्तक एकै पटक प्रकाशककहाँ पु¥याए पनि सार्वजनिक गर्दाको समयले पछिल्लो पुस्तक छायाँमा परेको हुनसक्ने लेखक बानियाँ बताउँछन् ।

‘पुरस्कार पाउँछु भन्ने कल्पना थिएन । म अझै अचम्मित छु,’ उनले थपे, ‘पछिल्लो पुस्तक अनुकूल समयमा आएन कि ! महारानीले छायाँमा पारेजस्तो लाग्छ ।’

चन्द्रप्रकाशले महारानी उपन्यास म्याग्दीको ऐतिहासिक सन्दर्भमा पर्वत राज्यलाई आधार बनाएर लेखेका छन् । उनको पारिवारिक पृष्ठभूमिका कारण पर्वत राज्यका ऐतिहासिक दस्तावेज, लोककथा, किंवदन्ती लगायत सामग्रीमा पहुँच थियो ।

भावी पुस्तालाई पर्वत राज्यको इतिहासबारे जानकारी गराउन ‘महारानी’ को जन्म भएको लेखक बानियाँले सुनाए । ‘पर्वत राज्यको इतिहास लेखिएको छैन । कसैले लेखेन मैले लेखिहालौं भनेर लेखें । मसँग थुप्रै कथा संकलित छन्,’ उनले भने, ‘मलाई ती कथा भावी पुस्तालाई सुनाउनुपर्छ भन्ने लाग्यो र महारानीको जन्म भयो ।’

पुस्तकको नाम महारानी भए पनि घनश्याम नामक राजाको महिमामण्डनबारे पनि सहजकर्ता बानियाँले प्रश्न गरे । राजा घनश्याम र अन्य केही पात्रको चरित्र निर्माणमा केही समीक्षक र पाठकले आलोचना गरेको लेखक बानियाँले स्वीकारे ।

‘उपन्यासका राजा घनश्यामलाई उदार, न्यायप्रेमी र प्रतापी देखाउनुमा मेरो राजनीतिक आदर्श र आमआकांक्षा पनि जोडिएको छ,’ उनले भने, ‘इतिहासका बारेमा लेख्दा वर्तमानमा उभिएर लेखिन्छ । वर्तमान राज्य पनि त्यस्तै भइदिए हुन्थ्यो भनेर मैले त्यस्तो बनाएँ हुँला ।’

उपन्यासमा वर्तमान राज्यलाई लिएर केही पक्ष बलियो बनाइए पनि महारानीको भूमिकालाई कमजोर नबनाएको उनले दाबी गरे । महारानीका पात्रमध्ये ९० प्रतिशत पात्र इतिहासबाट लिइएका छन् ।

सेसनको अन्तिमतर्फ लेखक बानियाँले गरेको कुरा निकै सोचनीय रह्यो । सहजकर्ताले उनलाई पुस्तकबाट भएको आम्दानीबारे सोधे । यो प्रश्न सायद साहित्यमा चासो राख्ने धेरैको मनमा थियो ।

तर बानियाँको जवाफले सहभागीको ध्यान खिच्यो । प्रकाशकसँग सम्झौताबिनै काम भएको र पुस्तक कति बिक्री भयो भन्ने सम्म पनि आफूलाई जानकारी नभएको उनले सुनाए ।

‘मैले कति पाउनुपर्ने हो, त्यस बारेमा केही कुरै भएको छैन,’ बानियाँले भने, ‘नढाँटीभन्दा मैले पुरस्कारबाहेक पुस्तकबाट कमाएर एक छाक भात पनि खाएको छैन ।’

तपाईको प्रतिक्रिया