मुक्तिनाथ खुलेपछि होटलमा सर्तकता

समाधान संवाददाता २०७७ पुष २२ गते १८:१२

एसके थकाली, जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिकाले बुधबारदेखि ५ वटै वडामा कोभिड १९ बारे जनचेतनामूलक अभियान सुरु गरेको छ ।

१० महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुला भएको र यसले जिल्लामा पर्यटकीय गतिविधि वृद्धि भई कोरोना जोखिम बढ्नसक्ने भएकाले गाउँपालिकाले अभियान चलाएको हो ।

Advertisement

जिल्ला अस्पताल जोमसोम, जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको प्राविधिक सहयोगमा अभियान सुरु गरिएको हो । अभियान बुधबार घरपझोङ ३ पुथाङ एअरपोर्टबाट थालियो ।

पहिलो दिन पुथाङ एअरपोर्टमा अवस्थित करिब ५० होटल तथा ५ वित्तीय संस्थालाई कोभिड १९ बारे जानकारी दिइयो । जिल्ला अस्पतालका डा. केविन पौडेलले कोरोना भाइरस तथा संक्रमण जोखिमको अवस्था र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले कोभिड १९ बाट सुरक्षित रहन होटल व्यवसायीले कार्यान्वयन गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डबारे प्रकाश पारे ।

Advertisement

घरपझोङ गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले मुक्तिनाथ खुलेसँगै पर्यटक आवागमन वृद्धि हुने भएकाले व्यवसायीले कोरोना जोखिम सामना गर्दै सुरक्षित रहेर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले मुस्ताङमा कोरोना भाइरसको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी दिए ।

उनले मुस्ताङमा ३१ जना कोरोना संक्रमित निको भएपछि पुनः मुस्ताङ ग्रीन जोन कायम भएको बताए । एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तयार पारिएको कार्यविधि पालना गर्न आग्रह गरे ।

पुथाङ एअरपोर्टका गाउँ मुखिया शेरबहादुर गुरुङले कोरोना कहरले पर्यटनक्षेत्र धराशायी हुँदा व्यवसायी रोजगार संकटमा परेको बताए ।

कार्यक्रममा मुस्ताङका होटल व्यवसायीलाई होटलमा आउने पाहुना राख्दा अनिवार्य माक्स, सेनीटाइजर, फेससिल र भौतिक दूरी कायम गरी व्यवसाय थाल्न पालिकाले सुझाएको छ ।

तपाईको प्रतिक्रिया