राससकर्मी जमुना वर्षा शर्मा सम्मानित

समाधान संवाददाता २०७७ पुष २६ गते २०:३२


गण्डकी, २६ पुस


राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मा सम्मानित भएकी छन् । समाचारको माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याएको भन्दै महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा उनलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सम्मान गरे ।


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले महिला पर्यटन व्यवसायी संगठित भएर अघि बढ्दा पर्यटन विकासमा टेवा पुग्ने बताए । पर्यटन क्षेत्रमा १९२ अर्ब प्रत्यक्ष लगानी र ५०० अर्ब निजी क्षेत्र को लगानी जोखिममा रहेको उनको भनाइ छ । पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङले महिला आफ्नो अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्ने बताइन् ।

Advertisement


पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य हुने बताए । आन्तरिक पर्यटन पुनर्राेत्थान समितिका संयोजक अग्नि कँडेलले अहिलेको अवस्था पर्यटनलाई लय फर्काउन आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिए ।


मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिदै पर्यटन विकासका लागि लागिरहेको उल्लेख गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व जमुना वर्षा शर्मा लगायतले पोखराको पर्यटन लगायतका विषयमा बोलेका थिए ।

Advertisement

कार्यक्रममा मञ्चका सल्लाहकार देबका पहारी र पम्फा पहारीलाई सम्मान गरिएको थियो । बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने सचिव उमा भण्डारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया