गण्डकीमा १८५९ जनाले लगाए कोभिसिल्ड, उपकुलपति बुद्धिले पहिलो डोज

समाधान संवाददाता २०७७ माघ १४ गते २२:२६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बुधबार १८ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियानको पहिलो दिन प्रदेशका ११ जिल्लाका १४ ठाउँबाट १८ सय ५९ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी लिए ।

‘खोप लगाउँदा प्रदेशमा कसैलाई समस्या भएन । व्यवस्थापन पनि राम्रो भयो,’ उनले भने, ‘१८ माघभित्र पहिलो चरणको खोप लगाएर सक्ने गरी भोलिदेखि सेन्टर थप्दै छौँ ।’

Advertisement

कास्कीमा ५७६, लमजुङमा २४५, नवलपुरमा २ सय, स्याङ्जामा १९४, म्याग्दीमा १३०, तनहुँमा १०४, बागलुङमा ११७, गोरखामा ११६, मनाङमा ७०, पर्वतमा ६८ र मुस्ताङमा ३९ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले गण्डकी प्रदेशमै पहिलो खोप लगाए । ‘सुरुमा मैले लगाएपछि अरुको पनि डर हट्छ भन्ने भयो । त्यसपछि मैले नै लगाउँछु भनेँ,’ उनले भने, ‘पहिला डर हुन्थ्यो । खोप लगाएपछि निर्धक्क भइयो ।’

Advertisement

गण्डकी प्रदेशलाई गत आइतबार ४० हजार डोज खोप केन्द्र सरकारले दिएको थियो । पहिलो चरणमा पाँच दिनमा १७ हजार फ्रन्टलाइनरलाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ ।

खोप लगाएका कारण कुनै गम्भीर समस्या आइहालेमा प्राथमिक उपचार जिल्लला अस्पतालमै गर्ने र गम्भीर भए पोखराको मुख्य चार अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको निर्देशक शर्माले जानकारी दिए ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पतालमा रिफर गरी उपचार गरिने छ ।

तपाईको प्रतिक्रिया