नेकपा खारेजीको पत्र प्रदेश सभामा

समाधान संवाददाता २०७७ फागुन २७ गते १३:४३

समाधान संवाददाता, पोखरा

नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको पत्र गण्डकी प्रदेश सभा सचिवालयमा आएको छ ।

निर्वाचन आयोगले सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको जानकारी प्रदेश सभालाई मंगलबार गराएको हो ।

Advertisement

आयोगले पत्र पठाएर प्रदेश सभामा रहेको नेकपा खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र भएको जानकारी पठाएको हो । प्रदेश सभामा पत्र आए पनि पत्र दर्ता हुन भने बाँकी छ । प्रदेश सभा सचिव हरिराज पोखरेल लगायत कर्मचारी जिल्ला बाहिर भएकाले दर्ता भने भएको छैन ।

‘हामीलाई पत्र मंगलबार आएको छ, सचिवहरु हुनुहुन्न, आएपछि दर्ता भइहाल्छ, हाम्रो काम दर्ता गर्नेमात्रै हो,’ प्रदेश सभा सचिवालयका अधिकृत जीतेन्द्र केसीले भने ।

Advertisement

अहिले माओवादीका तर्फबाट गण्डकी प्रदेश सरकारमा २ जना मन्त्री छन् । माओवादीका संसदीय दलका नेता हरिबहादुर चुमानले आन्तिरक मामिला तथा कानुन मन्त्रालय हाक्दा लेखबहादुर थापाले कृषि मन्त्रालयको बागडोर सम्हालेका छन् ।

गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र १ स्वतन्त्र सांसद छन् ।

अब प्रदेश सभामा पनि एमाले र माओवादी केन्द्रका सांसद अलग अलग बस्नेछन् । संघीय संसदमा माओवादी र नेकपा एमालेका सांसद सत्तापक्षकै रोमा बसे पनि २ लहरमा बसेका छन् ।

संघमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि गठबन्धनको खोजीमा छ । गण्डकी प्रदेशमा पनि अहिलेसम्म माओवादी सांसदले समर्थन फिर्ता लिने/नलिनेबारे अनिर्णित नै छन् । यहाँका सांसद केन्द्रकै निर्णय कुरिरहेका छन् ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई माओवादीले समर्थन फिर्ता लिए पनि केही असर भने पर्ने छैन । सरकार गठनका बेला राष्ट्रिय जनमोर्चाबाट विश्वासको मत पाएका गुरुङ अझै पनि साथ पाउनेमा ढुक्क छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि मुख्यमन्त्री गुरुङकै पक्षमा छन् ।

तपाईको प्रतिक्रिया