५५ दिनपछि गण्डकीमा २ काेराेना संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ चैत ३० गते १७:३६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्की र तनहुँका १/१ संक्रमितको मृत्यु भएको सोमबार पुष्टि गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषकाे साेमबार र तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको आइतबार कोरोनाबाट मृत्यु भएको हो ।

Advertisement

यसअघि गत ५ फागुनमा पोखरा ११ का ७१ वर्षीय कोरोना संक्रमित वृद्धको ज्यान गएको थियो । त्यसयता दैनिक ४० जनासम्म संक्रमित भेटिने गरेकोमा कसैको मृत्यु भएको थिएन ।

कास्की र तनहुँका दुवै संक्रमितको चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जानकारी दिए ।

Advertisement

कास्कीका संक्रमितमा कोभिडसँगै निमोनिया र श्वासप्रश्वासको समस्या थियो । तनहुँका पुरुषमा कोभिड र उच्च रक्तचापको समस्या रहेको डा. शर्माले बताए ।

थप २ संक्रमितको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।

प्रदेशमा सोमबारसम्म १६ हजार ९ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १६ हजार ३ सय ७ जना निको भएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया