किरिया बसेका कांग्रेस सभापति केसीलाई कोरोना संक्रमित

समाधान संवाददाता २०७८ वैशाख ८ गते १६:१०

समाधान संवाददाता, पोखरा ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकिरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना भएका केसीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि उनको परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको बताइन्छ ।

यसैबीच कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसँग तत्कालका लागि भेटघाट नगर्न आग्रह गरेका छन् । उनले एक अपिलमार्फत सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँ आइसोलेशनमा रहेकाले भेटघाट नगर्न आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया