गण्डकीमा दैनिक एक हजार संक्रमित पुग्ने अनुमान

समाधान संवाददाता २०७८ वैशाख ९ गते १३:१९

अनुप पौडेल, पोखरा

नयाँ वर्षको सुरुआतसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागेको छ ।

एक हप्तामै (२ देखि ८ वैशाखसम्म) गण्डकी प्रदेशमा ४ सय ४० जना कोरोना संक्रमित भेटिएका छन् । ४ जनाको मृत्यु भएको छ ।

Advertisement

चैतयता संक्रमित संख्या हरेक हप्ता दोब्बर भइरहेका छन् । संघ सरकारले असारसम्म देशैभरि संक्रमित ६ लाख पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिमदेखि असार पहिलो सातासम्म दैनिक ११ हजारसम्म संक्रमित भेटिने प्रक्षेपण छ ।

देशभर ११ हजार संक्रमित हुँदा गण्डकी प्रदेशका १ हजारजना हुने अनुमान प्रदेश स्वास्थ्य निर्देशनालयको छ ।

Advertisement

‘ठ्याक्कै आँकलन गरेका छैनौं । अहिलेकै अवस्थामा बढ्यो भने एक हजार हाराहारीमा दैनिक संक्रमित हुन सक्छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले भने, ‘स्कुल बन्द हुने, सुपरमार्केटलाई व्यवस्थित गर्ने र बाहिरबाट आउनेलाई व्यवस्थित गर्न सके सुरक्षित हुन सक्छौं ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा बुधबारसम्म ६ सय ६४ संक्रमित छन् । तीमध्ये ४ सय ८३ अर्थात ७२.७४ प्रतिशत सक्रिय संक्रमित कास्कीका हुन् । मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा कोरोना संक्रमित रहँदा कास्की ‘अति जोखिम’मा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

प्रदेशमा संक्रमित १७ हजार ४ सय ६ पुगेको र १६ हजार ४ सय ९२ जना निको भएका छन् ।

२ हप्ताअघि १७४ स्वाब परीक्षण गरिएकोमा १०४ जनामा नयाँ प्रकारको कोरोना (न्यु भेरियन्ट) भेटिएको थियो । सरकारले जोखिमपूर्ण जिल्लाका विद्यालय बन्द गरेकाले ‘रेड जोन’ कास्कीमा संक्रमित संख्या घट्ने अनुमान पनि गरिएको छ ।

साना बालबालिकामा संक्रमण हुँदा परिवार नै जोखिममा पर्ने सम्भावना भए पनि अहिले त्यो जोखिम घटेको प्रदेश स्वास्थ्य निर्देशक शर्मा बताउँछन् । तर, अन्य क्षेत्र खुला रहेकाले हेल्चक्राइँ गर्न नहुने उनको भनाइ छ ।

‘बच्चाहरु बढी हजुरबा–हजुरआमाको काखमै बस्छन् । त्यसले संक्रमण एउटा पुस्तालाई जम्प गरेर (बाआमा छोडेर हजुरबा–हजुरआमा)सम्म जाने सम्भावना भए पनि विद्यालय बन्द हुँदा जोखिम थोरै कम भयो,’ निर्देशक शर्माले भने ।

नयाँ भेरियेन्ट पुष्टि भएका १०४ मध्ये २७ जना विद्यार्थी हुन् । ती विद्यार्थीको सम्पर्कका चार सयभन्दा बढीको स्वाब परीक्षण गर्दा संक्रमित भने निकै कम भेटिएको निर्देशक शर्माले बताए ।

‘विद्यार्थीमा जति डरलाग्दो अवस्था छ भन्ने सोचेका थियौं, विद्यार्थीमा मास टेस्टिङ गर्दा त्यस्तो भेटिएन । डेढ सयजनामा १÷२ जनालाईमात्रै देखियो,’ उनले भने ।

भारतमा दैनिक २ लाख हाराहारीमा संक्रमित भेटिएका छन् । आवतजावत सहज भएकाले भारतबाट नेपाल बढी जोखिममा छ । भारतमा संक्रमित थपिँदा नेपाललाई सोझै प्रभाव पर्ने निर्देशक शर्मा बताउँछन् ।

‘गण्डकीमा मात्रै होइन, अरु प्रदेशको राजधानी भएको जिल्लासँग तुलना गर्दा कास्कीमा बढी छ,’ उनले थपे, ‘भारतमा दैनिक डेढ लाखभन्दा बढी मान्छे संक्रमित हुन लागे । त्यसले हामीलाई प्रभाव पार्छ ।’

तपाईको प्रतिक्रिया