केन्द्रको निर्णयले कार्यकर्तामा असन्तुष्टि छः जनमोर्चा बागलुङ अध्यक्ष

समाधान संवाददाता २०७८ वैशाख १९ गते ७:१६

सांसद, कार्यकर्तामा असन्तुष्टि छ, हामीलाई झूठा मुद्दामा फसाउने कांग्रेससँग सहकार्य गर्नु¥यो, तर केन्द्रको निर्णय कार्यान्वयन गरेर जान्छौं’

अमर थापा

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले १ वैशाखमा वक्तव्य जारी गरे ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आफ्नो दलले दिएको समर्थन फिर्ता हुने र कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले ल्याउने अविश्वास प्रस्तावमा सहयोग गर्ने भन्दै उनले वक्तव्य जारी गरेका थिए ।

उनले एकल निर्णय लिएको भन्दै गण्डकी प्रदेश राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले प्रदेश संसदीय दलको औचित्य नभएको प्रतिक्रिया दिए ।

Advertisement

आफूहरु इच्छाबिना केन्द्रको निर्णय अनुसार ‘कम्फर्टेबल’ सरकार बनाउन सहयोग गर्ने उनले बताए ।

केन्द्रीय अध्यक्ष केसीले गरेको निर्णयमा थापाको स्पष्ट असहमति थियो, तर पार्टीको निर्णयविरुद्ध जान अनुशासनले नदिने उनी बताउँछन् ।

थापामा मात्र होइन, केन्द्रले गरेको यो निर्णयमा कार्यकर्ताहरुको पनि असहमति छ । यसै सन्दर्भमासमाधानले बागलुङ जिल्लाका जनमोर्चा अध्यक्ष अमर थापासँग कुराकानी गरेको छः

पार्टी केन्द्रले गरेको अविश्वास प्रस्तावसम्बन्धी निर्णयमा तपाईंको धारणा के छ ?

अविश्वास प्रस्तावमा मत त सांसदहरुको कुरा भयो, सांसदहरुले अविश्वासको पक्षमै मतदान गर्छांै भनेर भन्नु भएकै छ । सांसदहरुले गर्ने, पार्टी नेतृत्वले गर्ने निर्णयमा हामीले सहमति त गर्नुनै प¥यो । तर पार्टीमा ठिक÷बेठिक भन्ने बहस भइहाल्छ ।

कार्यकर्तामा पनि यो सही छैन है भन्ने हुनु अस्वाभाविक भएन ।यसमा मेरो व्यक्तिगत धारणाले के हुन्छ र ?

बागलुङमा २०४८ को चुनावदेखि जनमोर्चा र एमालेबीच सहकार्य हुँदै आएको छ । अहिलेको निर्णयले आउँदा चुनावलाई असर गर्दैन ?

नेकपा एमालेसँग हाम्रो धेरै सहकार्य छ । ६४ को संविधानसभा निर्वाचनमा छुट्टै उठ्यौं, ७० मा पनि छुट्टाछुट्टै उठ्यौं । हामी छुट्टाछुट्टै उठेका पनि छौं, मिलेर गएका पनि छौं ।

७० मा हामी छुट्टाछुट्टै उठेपछि ३ सिट नै कांग्रेसले जित्यो । ६४ मा एमालेसँग तालमेल नभएपनि परी थापा, लीलबहादुर थापाहरुले अर्काे पार्टी खोल्नुभयो । तर उहाँहरुसँगै गठबन्धन ग¥यौं ।

अनि उहाँहरुले १ नम्बरमा जित्दा हामीले २ नम्बर क्षेत्रमा जित्यौं । हामीसँग मिश्रित अनुभव पनि छन् । पार्टी फरक भएपछि आआफ्ना कार्य हुने, आआफ्ना दाउपेच हुने स्वाभाविक भए ।

तर विचार मिल्ने, नीति कार्यक्रम, सिद्धान्त मिल्ने भएको हुँदा धेरै चाहिँ हामीसँगै सँगै जाँदा उपयुक्त हुन्छ भनेर सँगै गएका छौं । परिणाम के छ भन्दा एमाले र हामी छुट्टिँदा हारेका छौं र जुन बेला हामी मिलेर गएका छौं त्यति बेलासफलता बढी पाएका छौं ।

पार्टीमा जुनबेलासम्म ठिकै गरिरहेको हुन्छ, त्यति बेलासम्म पार्टीका अन्तसंघर्षहरु बाहिर आउने कुरा भएन । पार्टी अनुशासन भित्रै रहनुपर्ने बाध्यता पनि भयो ।

अब एमाले र हामी नमिल्ने हो भने अबको चुनावमा कांग्रेसले नै सबै सिट लाने देखिन्छ । यसले पनि कार्यकर्तामा असन्तुष्टि जगाएको हो ।

कार्यकर्ताहरुले सामाजिक सञ्जालमै पनि लेखिरहेका छन् । लडाईँ झगडा पार्टीमा त हुने नै भयो, तर कति बाहिर ल्याउने, लुकाउने भन्ने कुरा मुख्य हो ।

केन्द्रले फिल्ड रियालिटी नबुझी, कार्यकर्ताको भावना नबुझी निर्णय गरेको भन्ने आरोप कति सत्य छ ?

वर्तमान राजनीतिमा देखिएको समस्या निराकरण गर्न यो खाले निर्णय भएको हो । तर फिल्डको ग्राउन्ड चाहिँ बेग्लै हो । हामी यो कार्यकालका लागि सँगसँगै निर्वाचन लडेको हो ।

एउटै उद्देश्य पूर्ति गर्न हामी तालमेल गरेर लडेका थियौं । त्यसैले कार्यकर्तामा केन्द्रले गरेको निर्णयमा तौर—तवर मिलेन कि भनेर शंका हुनु स्वाभाविक हो । तर हामीले त केबल तालमेल मात्र ग¥या हो । उहाँहरु (नेकपा एमाले र माओवादी केन्द्र) त एकतै गरेर गएको हो ।

एकतै गरेर गएका पार्टीमा त अहिले काटाकाट मारामारको अवस्था छ भने हामी त चुनावी तालमेलमात्र गरेको समूह भयौं । त्यही पनि कम्तीमा वर्ग मिल्ने, विचार मिल्नेहरु तालमेल गरेर चुनावमा गएको हुनाले कार्यकर्तामा यस्तो नगर्दिए हुन्थ्यो भन्ने भावना छ ।

कार्यकर्ताहरुले प्रतिक्रिया पनि दिइराखेकै छन् । तर जहाँसम्म कार्यान्वयनको कुरा हो, केन्द्रले जे भन्छ हामी त त्यही पूरा गरेर जाने हौं ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले कामै गर्न नसकेको हो त ?

केन्द्रले गण्डकी प्रदेशबारे राजनीतिक रुपले निर्णय गरिदिएको छ । प्रदेश सरकारका बारेमा भएको निर्णय राजनीतिक हो । प्रधानमन्त्री ओलीले गरेको कामलाई लिएर गण्डकीको धरातल फरक भएपनि निर्णय भएको हो ।

केन्द्रमा केपी ओलीले जुन संसदको विघटन गर्नुभो, त्यसको विरुद्धमा हामीले आन्दोलन पनि ग¥र्यौं । अहिले अदालतले त्यसलाई सच्च्याइदिएको अवस्था पनि हो ।

अब गण्डकीको सन्दर्भमा के हो भने, त्यही प्रतिगमन गरेको पार्टीको एउटा महत्वपूर्ण लिडर भएको कुराले उहाँ (मुख्यमन्त्री गुरुङ)ले पनि प्रतिगमनमा सहयोग गर्नु भयो भन्ने हो । त्यही आशयले नै अहिले उठेका कुरा आएका हुन् ।

तलका कार्यकर्तामा यसले अलिक बढी चित्त नबुझेको हो । यसरी राजनीतिक निर्णय नलिदिएको भए हुने भन्ने छ । प्रतिगमनलाई सघायो भन्नुबाहेक त उहाँ (मुख्यमन्त्री)को अरु कुनै दोष छैन । कार्यकर्तामा यही कारण असन्तोष छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले यहाँ÷यहाँ बिगार्नु भएको छ, यहाँ÷यहाँ बद्मासी गर्नु भएको छ भनेर भन्ने ठाउँ हामीसँग छैन । उहाँका काममा राजनीतिक रुपमा हामीले प्रतिवाद पनि गरेका छैनौं ।

काममा विरोध नभएपनि केन्द्रको निर्णयले विरोध गर्न पर्दा कार्यकर्तामा अन्तर्विरोध भएको हो भन्ने म बुझ्छु । अन्तर्विरोध भएपनि हामी केन्द्रकै निर्णय कार्यान्वयन गरेर जान्छौं ।

कांग्रेससँगको सम्बन्ध कस्तो छ ?

बागलुङको सन्दर्भमा एमाले र हामीबीच सकारात्मक सम्बन्ध अलिक बढी नै छ । कांग्रेस र हाम्रो सम्बन्ध अलिह तिक्ततापूर्ण छ र समस्या यहीँनेर हो । कांग्रेसले हामीलाई लगाइदिएका दर्जनौं मुद्दा छन् ।

काटमार भन्नेसम्मका आदेश गर्थे कांग्रेसका गृहमन्त्रीहरु खुमबहादुर खड्का, गोविन्दराज जोशीहरुले । घटना धेरै घट्ने गरेका छन् यहाँ कांग्रेस र हामीबीच ।

हाम्रा सय डेढ सय कार्यकर्ताले कांग्रेसले लगाएका झुठा मुद्दाका कारण सास्ती खेपिरहेका छन् । यी स्थितिले गर्दा तनावपूर्ण स्थिति छ । त्यसैको असर अहिले पनि छ । सांसदहरुलाई नै चित्त नपरेको अवस्था हो ।

प्रस्तुतिः अनिश भट्टराई

तपाईको प्रतिक्रिया