आइसोलेसन छ, बिरामी छैनन्

समाधान संवाददाता २०७८ वैशाख २७ गते ७:१२

कोभिड संक्रमित होम आइसोलेसनमा छन् । जिल्ला अस्पताल जोमसोमको आइसोलनमा भने ६ संक्रमित छन् ।

सुन्दरकुमार थकाली, जामसोम

मुस्ताङका ५ वटै स्थानीय तहले कोभिड १९ का बिरामीका लागि आइसोलेसनको व्यवस्थापन गरे पनि आइसोलेसन वार्ड रित्तै छन् ।
कोभिड संक्रमित होम आइसोलेसनमा बसेका छन् । जिल्ला अस्पताल जोमसोमको आइसोलनमा भने ६ संक्रमित छन् ।

Advertisement

कोरोनाको दोस्रो लहरसँगै मुस्ताङमा संक्रमितको संख्या ४३ पुगेको छ । मुस्ताङको घरपझोङमा ३७ र वारागुङ मुक्तिक्षेत्र ३ र थासाङ गाउँपालिकामा ३ जना कोरोना संक्रमित छन् । पछिल्लो १० दिनमा मुस्ताङमा कोरोना संक्रमितको यो उच्च संख्या हो । संक्रमित भएकामध्ये अहिलेसम्म कोहीलाई पनि निको भइसकेको छैन भने १ जनाको मृत्यु भइसकेको छ ।

घरपझोङ गाउँपालिकाले तेज निरला बहुमुखी क्याम्पसको भवनमा ८ बेडको प्रिआइसोलेसन व्यवस्थापन गरेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए । जिल्ला अस्पतालको कोभिड आइसोलेसनको क्षमताले धान्न नसकेमा त्यहाँ व्यवस्थापन गर्ने तयारी छ ।

Advertisement

घरपझोङले आइसोलसनका लागि व्यवस्थापन पक्षमा सहयोग गर्ने उनले जानकारी दिए । सबैभन्दा बढी संक्रमित रहेको घरपझोङले बिरामीलाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण उपलब्ध गराएको छ ।

उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा कोरोना माहामारीदेखि हालसम्म कुनै संक्रमित छैनन् । यद्यपि त्यहाँका स्थानीय तहले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेसनको व्यवस्थापन गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गम भेगका जनतामा स्वास्थ्य सेवाको पहँुच उपलब्ध गराउने उद्देश्यले स्थानीय तहमा ५ बेडको कोभिड अस्पताल बनाउन बजेटसमेत दिएको छ ।

सरकारले स्थानीय तहका कोभिड अस्पतालका लागि १ चिकित्सक, २ नर्स लगायतका जनशक्ति, औजार र उपकरण खरिद गर्न रकम उपलब्ध गराएको हो ।

उत्तरी कोरला नाकासँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाले अस्पतालका लागि चाहिने जनशक्तिको सूचना प्रकाशित गरे पनि अहिलेसम्म जनशक्ति उपलब्ध हुन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिए ।

उनले अस्पतालका लागि जनशक्ति पूर्ति नभए पनि स्थानीय तहका साबिक स्वास्थ्यकर्मी खटाउने गरी तयारी गरेको जानकारी दिए । उनले लोमान्थाङ २ छोसेरमा १० बेड क्षमताको आइसोलेसन र लोमान्थाङमा क्वारेन्टिनको व्यवस्था मिलाइएको जनाए ।

‘कोभिडका बिरामी अहिलेसम्म छैनन् । संक्रमित देखिएमा तयारी अवस्थामा छौं,’ उनले भने ।

लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाले पनि कोभिड अस्पतालमा आइसोलन बनाएका छैनन् । तर, सबै तहले आइसोलेसन तैयारी अवस्थामा राखे पनि कुनै पालिकामा संक्रमित नभएको र कुनैमा बिरामी होम आइसोलेसनमा बसेपछि स्थानीय तहले व्यवस्थापन गरेको आइसोलेसन उपयोगविहीन बनेका हुन् ।

लोघेकर दामोदरकुण्ड र थासाङले अक्सिजनसहितको आइसोलेसन बनाएका छन् । मुस्ताङ सिसिएमसीले १ लाख रुपैयाँ बराबरको एन्टिजेन किट किन्ने जनाएको छ । कोरोना माहामारीको समयमा खडा गरिएको कोषबाट किट किन्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् ।

यसअघि कोरोना माहामारीको समय जिल्लाका ५ वटै स्थानीय तहबाट २÷२ लाख रुपैयाँ जिल्ला विपत् कोषमा जम्मा गरिएको थियो । त्यही रकमबाट तत्कालको समस्या सामधान गर्न किट किन्न लागिएको हो ।

लक्षणसहित अस्पतालमा आएका बिरामीलाई एन्टिजेनमार्फत परीक्षण गर्ने र गाउँघरमा देखिएका संकास्पद बिरामी र कन्ट्रयाक ट्रेसिङमा आएका व्यक्तिलाई पिसिआरको व्यवस्था मिलाउने जनाएको छ ।

जिल्ला अस्पतालमा प्लान जडान भए पनि सिलिन्डरमा भर्ने बुस्टर नहुँदा समस्या देखिएकाले तत्कालका लागि म्याग्दी, पर्वत, बाग्लुङसँग मिलेर अक्सिजन ग्यास उपलब्ध गराउने सिसिएमसीले निर्णय गरेको छ ।

कोरोना माहामारीको दोस्रो लहर सुरु भएयता मुस्ताङमा लक्षण भएका बिरामीलाई एन्टिजेनमार्फत परीक्षण गरिएको छ । तर, शनिबार जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङमा यसअघिको मौज्याद भिटिएममार्फत ४८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्रमा १७, रपझोङमा १५ र थासाङ गाउँपालिकाबाट १६ स्वाब संकलन गरी पोखरा पठाइएको छ ।

तपाईको प्रतिक्रिया