बुद्धिसागरको पक्षमा जब जर्जिया जुर्मुरायो

समाधान संवाददाता २०७८ जेठ ४ गते २०:१३

समाधान संवाददाता
जर्जिया(अमेरिका) ४ जेठ
एनआरएनको चुनाव त यसअघि पनि भएकै थियो । तर को उम्मेदवार भए र कसले जित्यो भन्ने पनि थाहा हुँदैनथ्यो । यसपालि भने अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीको टिमै जर्जिया पुग्यो । नेपाली समुदायको ठूलो संख्यामा भेला गरेर आफ्ना एजेन्डा राख्यो । जर्जियामै बस्दै आएका बोर्ड अफ डिरेक्टरका उम्मेदवार सन्तोष पहारी भन्छन्, ‘हिजोका दिनमा उम्मेदवार आएको गएको पत्तै पाइन्थ्यो, यसपालि उम्मेदवारहरु आउनुभयो ।’


हुन पनि १७ मे (३ जेठ)मा आयोजित जमघटमा निकै उल्लेख्य संख्यामा नेपालीहरु उम्मेदवारहरुको जमघटमा भेला भए । जहाँ, एनआरएन जर्जिया च्याप्टरका संस्थापक अध्यक्ष मोहन तिमिल्सिना, पूर्वअध्यक्ष सूर्य लम्साल, एनआरएन आइसिसीका पूर्वमेम्बर राजा घले, जर्जिया च्याप्टरमा निर्विरोध नवनिर्वाचित अध्यक्ष दिलीप बानियाँ, एनआरएनका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, एनसिसी जर्जियाका भाइस प्रेसिडेन्ट राजु थापा, जर्जियाका लागि नवनियुक्त पर्यटनदूत दीपक पहारी, एनएजीका पूर्वअध्यक्ष सिके पराजुली, एनएजीका पूर्वअध्यक्ष प्रणय लामा, एनएजिएका प्रेसिडेन्ड भवेन्द्र बस्नेत, जनसम्पर्क समिति जर्जिया च्याप्टरका सचिव कपिल वाग्ले, र वरिष्ठ पत्रकार प्रेम बानियाँ लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिले बुद्धिसागर सुवेदी नेतृत्वका उम्मेदवार टिमलाई ठूलो प्रेरणा दिएको थियो ।


अध्यक्षका उम्मेदवार सुवेदीले विशेषत ३ कुरामा ध्यान दिनुपर्ने बताए । समय, साधन स्रोत र भिजन संस्थाको नेतृत्वमा जानेसँग हुनुपर्ने उनको भनाइ थियो । ‘मैले परिवारसँग पनि सोधेको छु, व्यावसायिक रुपमा पनि केही फुर्सदिलो भएको छु संस्थालाई चाहिएको बेला संस्थालाई समय दिन सक्छु भनेर अध्यक्षको उम्मेदवार भएको छु,’ उनले भने, ‘साधन र स्रोत कसैलाई पनि पर्याप्त हुँदैन, मैले संस्थालाई धेरै थोरै सहयोग गर्न सक्छु भनेर उम्मेदवार भएको छु, च्याप्टरमा पनि बसेर काम गरेको आधारमा संस्थालाई कसरी अगाडि भन्ने पनि मसँग भिजन छ भनेरै उम्मेदवार भएको छु ।’

Advertisement


एजेन्डाका कुरा गर्दा अध्यक्ष उम्मेदवार सुवेदीले नेपालमा दोहोरो नागरिकता र दोहोरो कुराको कुरा उठाए । ‘नेपालीका भावना र योजना नै भोलिको दिनमा मेरा योजना हुनेछन्,’ उनले भने, ‘म यहाँहरुसँग मिलेरै, सल्लाह गरेरै योजना बनाउने छु ।’ नेपाल र अमेरिकी गरी दुवै सरकारसँग समन्वय गर्न सक्ने नेतृत्व आफूले दिनसक्ने विश्वास उनले दिलाए । ‘जति सक्छु राम्रो काम गर्नेछ, नराम्रो काम र संस्थालाई आँच आउने काम गर्ने छैन,’ उनले प्रतिबद्धता जनाए ।


उपाध्यक्षका उम्मेदवार बिआर लामाले चुनाव हारे पनि जिते पनि संस्थाका लागि लागिरहने प्रतिबद्धता जनाए । भेटघाट कार्यक्रममा एनआरएनका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले नेपालको संसदीय निर्वाचनको झल्को आएको सुनाए । क्षेत्रक्षेत्रमा उम्मेदवार र कार्यकर्ता पुग्ने गरेको अनुभूति भएको उनको भनाइ थियो । नेपाल र नेपालीसँगको नाता जोड्न गैरआवासीय नेपाली नागरिकताका लागि नेपालमा कानुन बनाउनुपर्ने र त्यसका लागि अमेरिका, युके र अस्ट्रेलियाका नेपालीले पहल गर्नुपर्ने पोखरेलले बताए ।

Advertisement


महिला उपाध्यक्ष क्रान्ति अर्याल भण्डारीले संस्थालाई केही योगदान गर्न सक्ने आत्मविश्वासका साथ उम्मेदवार बनेको सुनाइन् । इच्छा र जाँगर भए स्वयंसेवाका लागि संस्थामा लाग्न सकिने उनको भनाइ थियो ।


पूर्वआइसिसी मेम्बर राजा घलले अमेरिका आउनुअघिदेखि नै सामाजिक संस्थामा आवद्ध हुने गरेको जानकारी गराए । सामाजिक सेवामा आफ्नो निरन्तरता रहने उनको प्रतिबद्धता थियो । उम्मेदवारहरुलाई उनले सेवाको तीब्र इच्छा हुनुपर्ने सुझाव दिए । ‘स्वच्छाले नै भित्रैमनदेखि प्रतिबद्ध भएर दुखसुखमा साथ दिन चाहन्छु भनेर आउनुपर्छ,’ उनले भने । अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदीले भने जसरी नै समय दिने व्यक्ति संस्थामा हुनुपर्ने घलेको भनाइ थियो । त्यस्तै बीआर लामा जस्ता व्यक्ति संस्थालाई खाँचो रहेको उनले बताए ।


एनएजीका प्रेसिडेन्ट भवेन्द्र बस्नेत, एनसिसी जर्जियाका भाइस प्रेसिडेन्ट राजु थापा, जर्जिया प्रान्तका लागि पर्यटनदूत दीपक पहारी, एनएजीका पूर्वअध्यक्ष सिके पराजुली, नार्सियाका प्रतिनिधि कृष्ण देवकोटा र जनसम्पर्क समिति जर्जिया च्याप्टरका सचिव कपिल वाग्ले लगायतले शुभकामना दिए ।

कार्यक्रममा एनआरएनमा उपाध्यक्षका उम्मेदवारहरु सुमन थापा र डिलु पराजुली, महासचिवका उम्मेदवार अन्जन चौलागाईं, सचिवका उम्मेदवार अनुप खनाल, महिला सचिव तारा मरहट्टा, आरसिसी डा चिरञ्जीवी भट्टराई, बिओडी मीन खड्का, बिओडी केएन शर्मा र आरसिसीका रिजनल कोअर्डिनेटर साउथका उम्मेदवार डा चिरञ्जीवी भट्टराई लगायत उपस्थित थिए । जर्जिया च्याप्टरमा निर्विरोध नवनिर्वाचित अध्यक्ष दिलीप बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सूर्य लम्सालले स्वागत मन्तव्य राखे । बोर्ड अफ डिरेक्टरका उम्मेदवार सन्तोष पहारीले कार्यक्रममा उदघोषण गरेका थिए ।

तपाईको प्रतिक्रिया