सङ्क्रमितको अन्त्येष्टि निःशुल्क

समाधान संवाददाता २०७८ जेठ ५ गते २०:०५

चितवन, रासस ।

जिल्लाका कोभिड सङ्क्रमण भई मृत्यु भएकाहरुको अन्त्येष्टि निःशुल्क हुने भएको छ । दाहसंस्कारमा चर्काे शुल्क तिर्नु परेको गुनासो आएपछि भरतपुर महानगरपालिकाको अगुवाइमा सरोकारवालहरुको आज यहाँ

सम्पन्न बैठकले सङ्क्रमितको अन्त्येष्टि निःशुल्क गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शव वाहन, खाल्डो खन्ने जेसिबी, शव जलाउने दाउरा महानगरले व्यहोर्ने गरी निर्णय भएको बताउनुभयो । लायन्स क्लब इन्टरनेशनल ३२५ बीटु नेपालले उपलब्ध गराएको शव वाहन पनि प्रयोगमा ल्याईने छ ।

Advertisement

देवघाट क्षेत्र विकास समितिबाट महानगरपालिकाले खरिद गरेको दाउराले अपुगे हुने शवका लागि स्थानीय सामुदायिक वनहरुले दाउरा सहयोग गर्ने भएका छन् । नेपाली सेनाले शव भएको ठाउँबाट खाल्डो वा चितामा राख्नेसम्मको काम गर्दै आएको छ ।

अन्त्येष्टिको जलाउने लगायतका अन्य आवश्यक काम मृतकका परिवार र आफन्तले गर्न नसकेमा महानगरले सहयोग गर्ने दाहालले बताउनुभयो । विज्ञहरुका अनुसार शवबाट सङ्क्रमण नसर्ने बताइएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दाउराको व्ययभार बढ्दै गएमा मन्त्रालयले देवघाट क्षेत्र विकास समितिलाई बजेट निकासा गरेर सहजीकरण गर्ने आश्वासन समेत प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब यहाँ दाहसंस्कारमा अतिरिक्त खर्च लाग्दैन । निःशुल्क हुन्छ ।”

देवघाट नजिक बागेश्वरीस्थित नारायणी नदी किनारमा सङ्क्रमितको अन्त्येष्टि हुँदै आएको छ । यस अघि विभिन्न व्यक्तिहरुले दाहसंस्कारका लागि रु.३५ हजारसम्म लिएको गुनासो आएपछि स्थानीय प्रशासन र महानगरपालिकाको ध्यानाकर्षण भएको हो ।

तपाईको प्रतिक्रिया