देशभर थप ७९१४ जनामा काेराेना सङ्क्रमण, १९३ काे मृत्यु

समाधान संवाददाता २०७८ जेठ ९ गते १९:४७

काठमाण्डाैं, रासस ।

नेपालमा थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।

थप १८ हजार ९६५ जनाको पिसिआर परीक्षण तथा ९३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट सात हजार ५९८ तथा एन्टिजेनबाट ३१६ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २९ लाख १६ हजार ४६८ जना पुगेको छ । हाल ८७३सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Advertisement

हालसम्म तीन लाख ९१ हजार ३४८ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर सात हजार ६६४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७६ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दुई हजार ८२१ थपिए काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ८२१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार ८७९ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५८ हजार १७ संक्रमित निको भएका छन् भने एक हजार ४२९७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६ हजार ८४५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २३ हजार ४५५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३७७ सङ्क्रमितको मृत्यु भएको छ ।

यस्तै भक्तपुरमा चार हजार ८०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १३ हजार २७८ रहेको छ भने २७९ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

थप १९३ सङ्क्रमितको मृत्यु

सङ्क्रमणबाट थप १९३ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेको मन्त्रालयले जनाएको छ । शनिबार कोरोनाबाट १२९ सङ्क्रमितको मृत्यु भएको थियो ।


तपाईको प्रतिक्रिया