मुस्ताङमा काेराेना कहरः महिना दिनअघि आमा बितिन्, अहिले छाेरा

समाधान संवाददाता २०७८ जेठ १२ गते १०:२४

सुन्दरकुमार थकाली÷जोमसोम

कोरोनाको दोश्रो लहरसंगै हिमाली जिल्ला मुस्ताङमा कोरोनाका कारण एक महिना नपुग्दै आमापछि छोराको मृत्यु भएको छ ।

करिब १ महिनाअघि कोरोनाबाट मुस्ताङको घरपझोङ —४ जोमसोममा मृत्यु भएकी ७२ वर्षिया महिलाको मृत्यु भएकाे थियाे । अहिले उनै वृद्धाका कान्छा छाेरा ४३ वर्षीय कर्माछिरिङ गुरुङको पोखरा स्थित चरक मेमोरियल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएकाे हाे । यही सोमबार उनकाे मृत्यु भएको घरपझोङ गाउँपालिकाले जनाएको छ।

Advertisement

मुस्ताङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएकी ७२ महिलाको गत बैशाख १६ गते राती जोमसोम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । तिनै महिलाको कान्छा छोराकाे जोमसोम अस्पतालमा बैशाख २० गते कोरोना एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि थियो । कोरोनासहित स्वास्थ्य अवस्था असहज महशुस गरेका उनी आफै पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएको दुई हप्तामा उनको मृत्यृ भएको हो ।

कोरोनाबाट मृत्यु भएका गुरुङको जेठ २ गते पूनः पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । घरपझोङ गापाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीका अनुसार श्वाश÷प्रश्वास तथा निमोनियाका कारण आमाको मृत्यु भएको २५ दिनपछि कोरोनाका कारण छोराको मृत्यु भएको छ ।

Advertisement

स्वास्थ्य संयोजक थकालीका अनुसार लामो समयदेखि जापानमा बस्दै आएका गुरुङ दम्पती २ महिनाअघि मात्र मुस्ताङ आएका थिए ।

योसंगै मुस्ताङमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको ।जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार कोरोनाबाट घरपझोङमा ३ जना ,वारागुङ मुक्तिक्षेत्रमा ३ जना र थासाङ गापामा २ जना व्यक्तिले ज्यान गुमाएका छन् ।

कोरोनाको दोश्रो भेरियन्टसंगै पछिल्लो ३ हप्तामा हिमाली जिल्ला मुस्ताङमा संक्रमितको संख्या २ सय ९२ पुगेको छ । जसमध्ये ८९ जना व्यक्तिले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । मुस्ताङको घरपझोङमा ७६ संक्रमित मध्ये ४० जना ,थासाङमा ७३ संक्रमित मध्ये १७ जना र वारागुङ मुक्तिक्षेत्र गापामा १ सय ३४ संक्रमित मध्ये ३२ जनाले कोरोना जितेका हुन् । यस्तै उपल्लो मुस्ताङको लोमान्थाङमा ९ जना संक्रमित छन् भने लोघेकर दामोदरकुण्ड गापा कोरोना मुक्त छ ।

मुस्ताङबाट पछिल्लो ३ हप्तामा कोरोनाका कारण २२ जना व्यक्तिको जोमसोम अस्पतालबाट रिफर भएका छन् भने १ सय ६८ जना सक्रिय संक्रमित होमआईसोलेसन र १६ जना संक्रमित जोमसोम अस्पताल र स्थानीय तहका कोभिड आईसोलेसनमा छन् ।

स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार हालसम्म एक हजार २२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ९१ ज्ना व्यक्तिमा संक्रमण पुष्टि भएको हो भने १ सय ७९ जना व्यक्तिको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा १ सय १ जना व्यक्तिमा संक्रमण देखिएको हो ।मुस्ताङमा मंगलबारसम्म १ सय ७४ जना संक्रमित रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया