पोखराका डा थापा जो, एमालेको ९ महिने सरकारको अर्थमन्त्रीका सल्लाहकार थिए

समाधान संवाददाता २०७८ जेठ १८ गते १२:२६


समाधान संवाददाता, पोखरा

अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना संक्रमणबाट तीन साताअघि मुक्त भएपनि उनलाई निमोनिया र फोक्सोको इन्फेक्सन बल्झिएको थियो । मंगलबार बिहान गंगालाल अस्पतालमा उपचारको क्रममा थापाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

पोखरा ८ नयाँबजारका स्थायी बासिन्दा थापा नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक हुन् । उनी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको एमालेको नौ महिने सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार थिए । पछि नेकपा (एमाले) को अर्थ तथा योजना विभाग सचिवसमेत भए ।

Advertisement

सरकारी वित्त र योजना विज्ञ थापा डा थापाले अर्थ मन्त्रालयमा पटकपटक गरी ६ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । दश वर्षअघि उनी मनिलास्थित एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकमा कार्यरत थिए । थापा नेपाल वायुसेवा निगमको अध्यक्षसमेत भएका थिए । काठमाडौंको बसुन्धरामा बस्दै आएका थापाका श्रीमती, २ छोरा र १ छोरी छन् ।
थापाको निधनप्रति एमालेका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ट्विट गर्दै भनेका छन्, ‘फेरि दुःखद खबर ! मेरा अत्यन्त नजिकका मित्र, विद्वान अर्थशास्त्री डा. गोविन्द थापाको निधनको खबरले स्तब्ध बनायो । कमरेड थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ! हामी तपाईंको विद्वता र योगदानलाई सधै सम्झिरहने छौं !’
नेता खगराज अधिकारीले पनि देशले विद्वान अर्थशास्त्री र आफूले असल मित्र गुमाएको फेसबुकमा लेखेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया