मौसम प्रतिकूलताका बावजूद मुस्ताङमा १४ सय ५२ जनाले लगाए कोरोना विरुद्ध खोप

समाधान संवाददाता २०७८ असार ५ गते १८:४१

सुन्दर थकाली \जोमसोम

मौसम प्रतिकुलताका बावजूद हिमाली जिल्ला मुस्ताङमा एक हजार ४ सय ५२ जना नागरिकले कोरोना बिरुद्धको दोश्रो डोज खोप लगाएका छन् ।
गत आईतबार देखि मुस्ताङमा निरन्तर परेको अविरल वर्षाले खोप कार्यक्रमलाई आशिंक अवरुद्ध तुल्याएपनि मुस्ताङका ५ वटै स्थानीय तहले खोप कार्यक्रम निरन्तरता दिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङका सबै स्थानीय तहमा गत फागुनको चौथो हप्तामा ५५ वर्ष उमेरदेखि माथिका नागरिकलाई कोरोना बिरुद्धको पहिलो कोभिशिल्ड खोप लगाईएको थियो । यसपटक कोरोना बिरुद्ध पहिलो खोप लगाईएकालाई मुस्ताङका सबै स्थानीय तहले एकैसाथ असार १ गतेदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
स्वास्थ्य प्रमुख भण्डारीका अनुसार मुस्ताङमा कोरोना बिरुद्ध पहिलो खोप लगाएका ७ सय ७ जना पुरुष र ६ सय ९८ जना महिला गरी एक हजार ४ सय १५ जना नागरिकले खोप लगाईसकेको बताए । मुस्ताङमा कोरोना बिरुद्ध पहिलो डोज कोभिशिल्ड खोप लगाउँदा शुक्रबारसम्म ८८ प्रतिशत औसत प्रगति भएको स्वास्थ्य प्रमुख भण्डारीले उल्लेख गरे ।

यस्तै ,कोरोना बिरुद्ध पहिलो खोप लगाउन छुटेका नागरिकलाई यसपटक भेरो सिल खोप लगाईको छ । स्वास्थ्य कार्यालयका अनुसार मुस्ताङमा ३१ पुरुष र १६ महिलाले भेरो सिल खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले कोरोना बिरुद्धको खोप अभियानमा अविरल वर्षाका कारण खोप ढुवानी र खोप लगाउन आउने नागरिकलाई खोप केन्द्रसम्म आउजाउमा कठिनार्य भएको बताएको छ । प्रदेश जनस्वास्थ्य निर्देशानालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट मुस्ताङमा खोप ढुवानी गर्न अविरल वर्षाले अवरुद्ध तुल्याएको स्वास्थ्य कार्यालय मुस्ताङले उल्लेख गरेको छ । लगातारको वर्षाले मुस्ताङका शाखा नदीहरुको बाहव उच्च भएको र बेनी—जोमसोम सडकमा ठाउँ—ठाउँमा बाढी ÷पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा खोप ढुवानीमा समस्या परेको छ ।

Advertisement
खोप अभियानका स्वास्थ्यकर्मी


हिमाली जिल्ला मुस्ताङमा कुल संक्रमितको संख्या ४ सय ४६ जना रहेकोमा ३ सय ८ जना व्यक्ति कोरोना मुक्त भएका छन् भने १५ जना व्यक्तिको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । जसअन्तर्गत मुस्ताङको घरपझोङमा १ सय ४२ जना मध्ये १ सय ३ जना ,थासाङमा १ सय २६ जना मध्ये ७७ जना ,वारागुङ मुक्तिक्षेत्रमा १ सय ५१ ज्नामा १ सय २४ जना र लोमान्थाङमा २६ जना मध्ये १० जना व्यक्ति कोरोनामुक्त भएका छन् ।

यस्तै ,लामो समयसम्म कोरोना सुन्य रहेको लोघेकर दामोदरकुण्ड गापामा शुक्रबार १ जना व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मुस्ताङमा गत बैशाख १६ गते देखि यता २ सय ३० जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ११ जनामा कोरोना पुष्टि भएको थियो भने २ हजार ३ सय ११ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ सय ३२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Advertisement

मुस्ताङमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९६ रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया