आँगनको सरकार

समाधान संवाददाता २०७८ असार ९ गते ८:३३

सम्पादकीय

एकीकृत राज्य प्रणाली र शासकहरुले दूरदराज र दुर्गम भेगलाई वेवास्ता गरेको चर्काे गुनासो सम्बोधन गर्दै देश संघीयतामा गयो । पारिवारिक विरासतमा राज्यको अधिकार हस्तान्तरण हुने राजसंस्था हटाएर जनताले गणतन्त्र स्थापनाका लागि अभिमत दिएका थिए ।

गणतन्त्र स्थापनापछि नागरिकको मुख्य अपेक्षा थियो ः सरकारहरु अब आँगनमै आउने छन् अर्थात् नागरिकलाई नचिन्ने, सजिलै भित्र पस्न नदिने सिंहदरबार नै धाइरहनुपर्दैन । नेपालको संविधान २०७२ ले देशमा ३ तहका सरकारको व्यवस्था गरेको छ ।

Advertisement

देशमा ७ प्रदेश कायम गरी त्यहाँ प्रदेश सरकारहरु कार्यरत छन् । देशैभर ७ सय ५३ स्थानीय तह छन् । अर्थात् जनताको आँगनमै ७ सय ५३ वटा सरकार छन् । ती सरकार गठन भएको ४ वर्ष पुगिसकेको छ ।

स्थानीय सरकारलाई कानुन बनाउने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने लगायतका धेरै अधिकार छन् । केही प्रदेश र संघसँगका साझा अधिकार पनि छन् । नागरिकको अपेक्षा अनुसार आँगनकै सरकार बनेर उचित नीति, कानुन निर्माण र जनअपेक्षा अनुसारको विकास, निर्माण गर्ने दायित्व यी सरकारले पूरा गर्दै छन् ।

Advertisement

कार्यकाल १ वर्ष जतिमात्रै बाँकी रहँदा स्थानीय सरकारहरुको मूल्यांकन गर्ने बेला पनि भइसकेको छ । केही अपवादलाई छाडेर धेरै स्थानीया तह विकास, निर्माणमा जनताको अपेक्षा पूरा गर्न लागिरहेका छन् । भौतिक संरचना, कर्मचारी संयन्त्र, अनुभव र नयाँ पारिवेशमा घुलमिल हुँदै काम गर्दै स्थानीय सरकारहरु अघि बढिरहेका छन् ।

गत वर्षबाट हामीले व्यहोरेको कोरोना महामारी र बेला बेलामा आउने प्राकृतिक विपद्को सामना गर्न स्थानीय सरकारहरुले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।

कास्कीको मादी गाउँपालिकाले पनि विभिन्न जनमुखी काम गरी आँगनको सरकार भएको झल्को दिएको छ । महामारीमा नागरिकको सबैभन्दा नजिकको साथी पालिका नै बनेको छ । मादीले तल्लो छाचोकमा अस्पताल बनाउँदै छ । १५ शड्ढयाको अस्पताल भवन निर्माण आगामी आर्थिक वर्षभित्रै सुरु गरिने भएको छ ।

पालिकाले ९ औं गाउँसभामा नीति तथा कार्यक्रममा स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीमा सञ्चालित सामुदायिक स्वास्थ्य इकाइलाई निरन्तरता दिने उल्लेख छ । होम आइसोलेसनमा रहेकालाई बिरामीलाई औषधी तथा खाद्यान्नको प्याकेज मादीले दिने भएको छ । महामारीमा नागरिकको निशुल्क उपचारका लागि पनि मादीले पहल गरेको छ ।

थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउने संक्रमितलाई निःशुल्क खाना तथा औषधी उपचारको व्यवस्था गर्न लागिएको छ । संक्रमितलाई आवश्यक एम्बुलेन्स सेवा सित्तैमा दिने पालिकाको योजना छ ।

विपद्का बेला दुर्घटनामा परी गम्भीर चोटपटक लागेका, अंगभंग भएका, कोभिड संक्रमति भई भेन्टिलेटरमा उपचार गर्नुपर्ने भएमा तथा मृत्यु भएमा पनि पालिकावासीलाई राहत दिइने भएको छ ।

यहाँ २ हजार ७ सय ५७ जनाको पिसिआर र ६ सय ८२ जनाको एन्टेजिन विधिबाट परीक्षण गरिएकोमा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पालिकाले अहिले थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ३० बेड अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेको छ । यसरी महामारीमा मादीले नागरिकलाई आँगनमै सरकार भएको आभास दिलाएको छ ।

तपाईको प्रतिक्रिया