पर्वतमा पहिरो जाँदा १० को मृत्यु, १ बेपत्ता

समाधान संवाददाता २०७८ भदौ १९ गते ११:५९

बिजुली छैन, फोन पनि लाग्दैन


समाधान संवाददाता
पोखरा-पर्वतकी दुर्गा पौडेल बिहीबार सिल्मीस्थित आफ्नी दिदीकहाँ बास बस्न गइन् । छोरा विष्णु पौडेल र उनी भिनाजु मनिलाल पौडेलको घरको एउटा कोठामा बसे । छोरी भने ठूलिआमासँगै बसिन् । दिउँसो माइत गएर फर्किएकी दुर्गा भीषण पानी आएपछि दिदीकहाँ रोकिएकी थिइन् । रातिसम्मै पानी परिरह्यो । बिहानै उठेर घर फर्कने योजनाका साथ सुतेकी दुर्गाले शुक्रबारको बिहानी भने देख्न पाइनन् । राति आएको पहिरोमा परी उनको मृत्यु भयो । ६ वर्षीय छोरा विष्णु पनि त्यहीँ अन्तिम सास फेरे ।


पर्वतमा बिहीबार रातिको पहिरोबाट ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै विद्युत सेवा पनि अवरुद्ध बनेको छ । सञ्चार सम्पर्क पनि बिच्छेद भएको छ । पोखरा बागलुङ राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा यातायात सम्पर्क पनि टुटेको छ । राजमार्गकै पहिरोका कारण फाइबर तार टुट्दा टेलिफोन सम्पर्क बिच्छेद भएको हो । बिजुलीका तारहरु पनि चुँडिएका छन् ।


कुस्मा नगरपालिका ३ का वडाध्यक्ष शिव पौडेलका अनुसार राति साढे १२ बजेतिर गएको पहिरोमा पर्दा आमाछोरा एक चिहान बने । ‘राति निदाएका बेला पहिरो गएकाले थाहा पाएनन्, छोरी घरको पल्लो भागमा भएकाले बचिन्, एक भाग पूरै पहिरोले पुरेछ,’ पौडेलले भने । बिहीबार राति गएको पहिरोका कारण पर्वतमा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।

Advertisement


एकैघरका ५ जनाले पहिरोमा परी मृत्युवरण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कुस्मा ३ दुर्लुङ भोगेनीका माधव शर्माको घरमाथिबाट पहिरो खस्दा एकै घरका ५ जनाको मृत्यु भएको हो । १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीया विनीता पौडेल, ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भगवती पौडेल र ९ वर्षीय विनोद पौडेलको मृत्यु भएको हो ।


मोदी गाउँपालिका ५ अम्बोटमा पहिरो खस्दा ५० वर्षीया फूलमाया थापाको मृत्यु भएको छ । कुस्मा ११ पकुवा पाल्चेस्थित हरि पौडेलको घर पहिरोको कारण पुरिँदा ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय प्रयूष पौडेलको निधन भएको छ । पहिरोमा परेकी ७० वर्षीया डल्ली पाध्या पौडेल अहिलेसम्म बेपत्ता छिन् ।

Advertisement


यस्तै कास्कीमा खोलाले बगाएर १ जनाको मृत्यु भएकोछ । शुक्रबार ११ बजेतिर खुदीखोलाले बगाउँदा ६० वर्षीय रमेश मगरको मृत्यु भएको हो । खोला तरेर गगनगौंडा जाने क्रममा खोलाले ३० मिटर बगाउँदा उनको मृत्यु भएको हो । खोलाले बगाएपछि उनलाई प्रहरीले उद्धार गरी शिशुवा अस्पताल लगेपनि डाक्टरले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरिदिएका थिए ।


तनहुँमा चट्याङ लागेर १ पुरुषको मृत्यु भएको छ । बिहान ९ बजे परेको चट्याङमा परी भीमाद नगरपालिका ८ ढुङढुङ्गे अर्चलेका ३४ वर्षीय अर्जुन विकको मृत्यु भएको हो । उपचारका क्रममा जिपि कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतारा लगेपछि उनको मृत्यु भएको हो । बिहीबार पनि कास्कीमा पहिरोमा परि ५ जनाले ज्यान गुमाएका थिए ।
शनिबारपछि पानी कमः मौसमविद्
जल तथा विज्ञान मौसम कार्यालय पोखराका प्रमुख सागर मिश्र शनिबारपछि वर्षात् केही कम हुने बताउँछन् । मौसमविदका अनुसार शनिबार पनि गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना छ । तर आइतबारबाट पानी पर्न कम हुने मौसमविदको पूर्वानूमान छ । ‘शनिबार बागलुङ, पर्वत, तनहुँमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा पनि मध्यम वर्षा हुन सक्छ, अब पानी पर्न कम हुँदै जान्छ,’ मिश्रले भने ।

तपाईको प्रतिक्रिया