अफगानिस्तानलाई चीनको खोप र ३ करोड १० लाख डलर सहयोग

समाधान संवाददाता २०७८ भदौ २५ गते १२:२२

बेइजिङ (रोयटर्स)—चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेको छ । अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेलगत्तै चीनले खाद्यान्न आपूर्ति तथा कोरोना भाइरसविरुद्धको खोपसहितको सहयोग घोषणा गरेको हो ।


चिनियाँ विदेशमन्त्री वांग यीले बुधबार एक बैठकको क्रममा सहयोगको घोषणा गरेका हुन् । तालिबान सत्तामा आएसँगै चीनले उसँग सम्बन्ध बिस्तार गर्न इच्छुक रहेको बताएको थियो । साथै चीनमा कानुनी व्यवस्था कायम गराउन अन्तरिम सरकार गठन गर्नु अनिवार्य रहेको पनि चीनले बताएको थियो ।


तालिबान सत्तामा आएपछि चीनले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन प्रयास गरिरहेको देखिन्छ । अमेरिकाले भने तालिबान सरकारलाई मान्यता दिएको छैन ।
चीनले तालिबान सरकारसँग संवाद र सम्पर्क कायम राखिरहन तयार रहेको बताएपछि सहयोगको घोषणा भएको हो ।

Advertisement

अफगानिस्तानमा स्थायित्व कायम गर्नका लागि तालिबानले गठन गरेको अन्तरिम सरकार अत्यावश्यक कदम रहेको पनि चीनले बताएको छ । तालिबानले अफगानिस्तानलाई इस्लामिक इमिरेट्स घोषणा गर्दै गत हप्ता अन्तरिम सरकार गठन गरेको थियो। तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो ।


अमेरिका नेतृत्वको नेटो सैनिकले २० वर्षदेखिको सैन्य अभियान अन्त्यको घोषणा गरेसँगै तालिबानले विभिन्न क्षेत्र कब्जा लिन थालेको थियो। अमेरिकी सैनिक अगस्ट ३१ मा पूर्ण रुपमा फिर्ता भएको छ ।

Advertisement


अमेरिकाले तालिबान सरकारलाई मान्यता दिएको छैन। अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबान सरकारलाई मान्यता दिन अझै उनीहरुको गतिविधि हेर्नुपर्ने र त्यसका लागि लामो समय लाग्ने बताएका छन् ।


अमेरिकाको उपस्थिति नहुँदा अफगानिस्तानमा चीन भने तीव्र गतिमा प्रवेश गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार एक बैठकको क्रममा सहयोगको घोषणा गरेका हुन् । वाङले अफगानिस्तानका छिमेकीहरु पाकिस्तान, इरान, ताजकिस्तान, उज्बेकिस्तान र तुर्केमेनिस्तानका प्रतिनिधिसँग छलफल गरेका हुन् ।


चिनियाँ विदेशमन्त्री वाङले अफगानिस्तानलाई सहयोग गर्ने अभियानमा सहकार्यका लागि भन्दै छिमेकी देशहरुको बैठक गरेका हुन् । उनले अफगानिस्तानलाई चीनले ३० लाख मात्रा खोप दिने पनि बताए । चीनले अमेरिकी सैनिकको फिर्तीलाई लिएर अमेरिकाको आलोचना पनि गर्दै आएको छ ।
अफगानिस्तानमा तालिबानले सबै पुरुष सदस्य रहेको अन्तरिम सरकार बनाएको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन् । राजधानी काबुल र उत्तर पूर्वी प्रान्त बादखस्तानमा महिलाहरुले प्रदर्शन गरेका हुन् ।

मन्त्रिमण्डलमा महिला सदस्य नभएसम्म आफूहरुले सरकारलाई स्वीकार नगर्ने प्रदर्शनमा सहभागी महिलाहरुले बताएका छन् । प्रदर्शनमा सहभागी भएका केही महिलाहरुलाई तालिबान लडाकुले पिटेको बताइएको छ ।


महिलाहरुको प्रदर्शनको रिपोर्टिङ गरेकै कारण आफ्ना केही पत्रकारहरुलाई तालिबानले नियन्त्रणमा लिएको तथा कुटपिट गरेको स्थानीय सञ्चार संस्था एतिलाट्रोजले बताएको छ । तालिबानले कुटपिटको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन । तर उसले महिलाहरुले गरेका जस्ता प्रदर्शन गैरकानूनी रहेको भन्दै चेतावनी दिएको छ । प्रदर्शनकारीले प्रदर्शन पूर्व अनुमति लिनु पर्ने बताएको छ ।


मंगलबार पश्चिमी शहर हेरातमा भएको प्रदर्शनको क्रममा तीनजनाको ज्यान गएको थियो । तालिबानले घोषणा गरेको अन्तरिम सरकारलाई लिएर युरोपियन युनियन तथा अमेरिकासहितले चासो र चिन्ता व्यक्त गरेका छन् । तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले अन्तर्राष्ट्रिय समुदायसँग तालिबान सरकारलाई मान्यता नदिन आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया