पार्वतीको अविराम यात्रा

सञ्जय रानाभाट २०७८ भदौ ३१ गते २०:११



व्यवसायी भन्ने बित्तिकै ठूलो घराना जोडिएर आउँछ । व्यवसायी हुन सम्पन्न परिवारमा जन्मिनुपर्छ भन्ने नेपाली समाजमा सोच छ । तर, केही व्यवसायी यस्ता पनि छन् । जसले व्यवसायी हुन ठूलो परिवारमा जन्मिनुपर्छ भन्ने मान्यता तोडे । सामान्य परिवारकै भएर पनि सफल व्यवसायी बने ।


त्यस्तै अपवादमध्येकी एक हुन् पार्वती रेग्मी पौडेल । स्याङ्जाको एक सामान्य परिवारमा जन्मेकी पार्वती अहिले सफल व्यवसायीका रुपमा गनिन्छिन् । पोखराको बिरौटामा उनको विज्ञापन एजेन्सी छ । किशोरी हुँदादेखि नै केही गर्ने हुटहुटी पालेकी पार्वती ११ कक्षा पढ्दापढ्दै गाउँका पाका उमेरका महिलालाई प्रौढ शिक्षा पढाउँथिन् । मिहिनेती, लगनशील पार्वतीको सानैदेखि केही गर्ने हुटहुटीले नै उनलाई पोखराकी सफल व्यवसायीको रुपमा उभ्याएको छ ।


माध्यमिक शिक्षा सकेपछि पोखराका बाबुराम रेग्मीसँग २१ वर्षको उमेरमै पार्वतीको बिहे भयो । ‘बिहेपछि पनि मैले पढाइलाई निरन्तरता दिन पाएँ,’ उनले सुनाइन् । पढाइसँगै उनले ढुंगेसाघु बोर्डिङ स्कुलमा पढाउने काम पाइन् । अनि, सुरु भयो उनको शिक्षिका बन्ने यात्रा । घरधन्दा सकेर दिउँसो विद्यालय । उनलाई भ्याइनभ्याई थियो । ‘परिवारको साथ र सापोर्टकै कारण आज त्यहाँसम्म आएँ,’ उनले भनिन् ।
केही गर्ने हुटहुटी उनको पहिलेदेखि । दिनभर अर्काको जागिर गरेर मात्रै त सम्भव थिएन । व्यवसाय गर्न लगानी छैन । ‘अब म वैदेशिक रोजगारीका लगि जान्छु । केही समयका विदेशमा दुख गर्छु भन्ने पनि सोचेकी थिएँ,’ उनले सुनाइन् ।

Advertisement


चट्ट छोडेर विदेश जान सक्ने अवस्था पनि थिएन । छोरो भर्खर १० महिनामा पाइला टेकेको थियो । दूधे बालक छोडेर विदेश जान मनले के मान्दो हो । तर, परिस्थिति अलि भिन्न थियो । श्रीमान्, श्रीमती दुवैले वैदेशिक रोजगारीमा जाने निधो गरे । इजरेलका लागि प्रोसेस गरे । भिसा लाग्यो ।


यता उनले केयर गिभरको तालिम लिइसकेकी थिइन् । श्रीमान्को भन्दा उनको छोटो समयमा भिषा आयो । यति बेला उनलाई धेरै गाह्रो भइसकेको थियो । काखमा खेल्र्दै गरेको छोरा छोडेर जाँदाको पीडा एकातिर । महिला भएर वैदेशिक रोजगारीका लागि जानु अर्को चुनौती । केहीको प्रवाह नगरी उनी दूधे छोरो माइती छोडेर लागिन इजरेल । ‘विदेश गएपछि फेरि चुनौती थपियो । भाषा । इजरेलीसँग कस्तो व्यवहार गर्ने त्यो पनि सिक्नुपर्ने थियो,’ उनले पूराना दिन सम्झिन् ।

Advertisement


इजरेल कहाँ नेपाल कहाँ ?


नेपालको विकास र इजरेलको विकासलाई उनले मनमनै तौलिइन् । मेरो देशमा पनि यतिको विकास भए । त्यहाँ मानिसहरुको व्यवहारले उनलाई लोभाइरह्यो । केही गर्ने हुटहुटी त थियो नै, त्यहाँ धेरै कुरा सिकिन् पनि ।

केही समयपछि उनका श्रीमान्को पनि भिसा लाग्यो । बल्ल उनको सास भरियो । श्रीमान्श्रीमतीले घरपरिवार हेर्दै केही पैसा जोगाए । ज्यान परदेशमा भए पनि याद घरदेशको आउँथ्यो । यता समय बित्दै गयो । १० महिनामै छाडेर गएको छोरो पनि ६ पूरा भएर ७ वर्षमा लागि सकेको थियो ।


नि, उनी घरदेश फर्किन् …
‘अब म नेपाल फर्किन्छु । घरपरिवार हेर्छु । इजरेल फर्किन्न,’ घरदेशको सम्झनाले गालेको एक साँझ उनले श्रीमान्लाई भनिन् । घरदेशको सम्झनाले उनको मन यति पाकेको थियो । सम्झनामा धमिलो आकृति बन्छ ।


घरदेश फर्किने चाँजोपाँजो मिलाइन् । अनि उनी घरदेश फर्किन् । आफ्नाहरुको मायाले उनलाई यति तड्पाएको थियो कि, नेपाल फर्केको केही समय परिवारसँगै भुलिन् । देश फर्केपछि नेपालका इन्स्टिच्युटहरुले इजरेली भाषा पढाउने अफर राखे । अफर मात्रै राखेनन् । घरसम्मै लिन आए । मिराइ एक्सल, गोल्डेन आई एकेडेमीमा एकै दिनमा उनले ५ वटा सम्म क्लास लिइन् । सामाजिक संघसंस्थामा पनि आबद्ध भइन् । ०७१ मा प्राइम लाइभ इन्सुरेन्समा १ वर्षमै एजेन्सी म्यानेजर बनिन् ।


अनि सुरु भयो व्यावसायिक यात्रा
आफ्नै केही गर्ने पहिलेदेखिको सोच । ०७१ बिरौटामा विज्ञापन एजेन्सी खोलिन् । व्यवसाय हो सुरुआती चरणमा भने उनलाई धेरै गाह्रो भयो । मार्केटको बारेमा त्यतिसाह्रो ज्ञान उनलाई थिएन । ०७१ सालमा उनले ५० वटा भन्दा धेरै बिल काट्न सकिनन् । ‘सुरुआतमा २ जना स्टाफलाई तलब आफ्नो गोजीबाट दिनुप¥यो,’ उनले सुनाइन् । तर, हार भने मानिनन् । विभिन्न संघसस्थाहरुसँग आवद्ध हुँदै गएपछि उनको चिनजान बाक्लियो ।


एजेन्सी सञ्चालक, प्राइम इन्सुरेन्सको एजेन्सी म्यानेजर हँुदै विभिन्न संघ संस्थाको नेतृत्व गर्दै आएकी छिन् उनी । ३ जना कर्मचारी राखेर सुरु गरेको एजेन्सी अहिले ५ जना जागिरे छन् । एजेन्सीमा लागेर विदेशमा सिकेको कुरा नेपालमा प्रयोग गर्न पाएकोमा खुसी छिन् उनी । पोखरामै स्थापित विज्ञापन व्यवसायी पार्वती रेग्मी पौडेल महिला उद्यमी संघ कास्कीकी अध्यक्ष हुन् ।


उता इजरेलमा सिकेको केयर गिभरको तालिम अरुलाई पनि दिने योजना छ उनको । ‘विदेश जानेलाई क्यापेबल बनाएर पढाउने रहर छ,’ उनले भनिन् । श्रीमान्श्रीमती मिलेर एजेन्सी चलाइरहेका छन् । कुनै व्यवसायमा सफल हुन त्यसमा लगाव हुनुपर्ने उनी बताउँछिन् । लगनशील भएर कर्म गरेर जुनसुकै काम सफल हुने उनको भनाइ छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया