कृषि

घरपझोङमा प्रविधि हस्तान्तरण

सुन्दरकुमार थकाली २०७८ कार्तिक ८ गते १७:२६

जोमसोम— गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत घरपझोङ गाउपालिका—४ र ५ का १२ जना महिला उद्यम समुहलाई सोमबार स्याउ प्रशोधन गर्ने ३ थान जुसर मेशिन हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा शीप विकास तालिम लिएका महिला उद्यम समुहलाई घरपझोङ गाउपालिकाको समन्वयमा ईलेक्ट्रोनिक उपकरण हस्तान्तरण गरिएको गाउपालिकाकी उद्यम शाखा प्रमुख सरिता थकालीले जानकारी दिईन् ।
महिलाहरुलाई शीप विकास तथा उद्यमशीलताको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले बितरण गरिएको ३ थान स्याउ जुसर उपकरण मुल्य एकलाख रहेको उद्यम शाखा प्रमुख थकालीले बताईन् ।गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्ष महिला समुहहरुलाई ८ दिने उद्यमशीलता विकास तालिम ,उद्यमीहरुको माग अनुसार शीप विकास तालिम र उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम भएको उनको भनाई छ । सो शीप विकास तालिम अन्तर्गत घरपझोङका महिला समुहहरुलाई उन्नत जातको कुखुरा र बाख्रा पालन कार्यक्रम संञ्चालन भएको शाखा प्रमुख थकालीले उल्लेख गरिन् ।
सो अवसरमा संविधान सभा सदस्य श्रीमाया थकाली,गापा अध्यक्ष आशबहादुर थकाली र उपाध्यक्ष शर्मिला गुरुङले संयुक्त रुपमा महिला उद्यमी समुहलाई प्रविधि हस्तान्तरण गरिएको थियो । प्रविधि हस्तान्तरण कार्यक्रममा संविधान सभा सदस्य श्रीमाया थकालीले महिलाहरुले तालिममा सिकेका कुरा ब्यवहारमा रुपान्तरण गर्नुपर्ने बताईन् । मुस्ताङमा कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको उल्लेख्य गर्दै संविधान सभा सदस्य थकालीले अनुदानमा आएको उपकरणलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिईन् ।

गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले कोभिडका कारण प्रविधि हस्तान्तरण गर्नमा ढिलाई भएको बताए ।अध्यक्ष थकालीले महिलाहरु चुलाचौकामा मात्र सीमित नभई उद्यमशीलतातर्फ पनि जोड दिनु पर्ने उल्लेख गरे । यस्तै ,उपाध्यक्ष शर्मिला गुरुङले विगतमा घरेलु तथा साना उद्योगले गर्ने विभिन्न क्षमता विकास तालिमहरु स्थानीय निकायमा आएको बताईन् । उनले स्थानीय तहकै रोहबर भईरहेका यसप्रकार कार्यक्रम नियमित अनुगमन गरिने हुदा महिलाईहरुलाई जिम्मेवार ढंगले लाग्न सुझाईन् ।
गाउपालिका अध्यक्ष आशबहादुर थकालीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद अचार्यले स्वागत मन्तब्य र कार्यक्रम संञ्चालन उद्योग शाखा प्रमुख सरिता थकालीले गरेकी थिईन् ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया