पदयात्रामा उर्लिदै पदयात्री, आशावादी व्यवसायी

श्याम रानामगर २०७८ कार्तिक २१ गते १२:१४

पोखरा ।
अढाई वर्ष लामो बन्दाबन्दीपछि भर्खरमात्रै खुलेको छ पदमार्ग । हिउँद सुरु भएपछि पदयात्रा गर्नु उचित मानिन्छ । लामो समयसम्म घरभित्रै थुनिएर बसेकाहरु निष्फिक्री भएर घुम्न निस्केका छन् ।

विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेस क्पाम्पमा यति बेला घुम्न निस्केकाको घुँइचो छ ।
दसैं तिहार बिदामा अन्नपूर्ण घुम्न आएकालाई स्वागत गर्न व्यवसायीलाई भ्याईंनभ्याईं छ । ‘अहिले पाहुना राम्रै आइरहेको छ । पहिलाको जस्तो त के हुन्थ्यो ?,’ एक्सेलेन्ट भ्यु टपका सञ्चालक मिकास गुरुङले भने, ‘त्यही पनि यति लामो समयसम्म बन्द भएर आउनुलाई रामै्र भन्नुपर्छ ।’
अरु समयमा मौसमको ठेगान नहुने । असोज, कात्तिकमा मौसम पनि राम्रो खुल्ने हुनाले पदयात्री यो समयमा घुम्न रुचाउँछन् । मौसम खुल्ने याम भए पनि १ हप्ताअघि आएको बेमौसमी झरीले केही असर पारेको थियो । तर, यात्रामा निस्किइसकेकाहरु झरीमा रुझ्दै अघि बढिरहे ।
‘झरीमा रुझ्दै भए पनि पाहुनाहरु आउनु भएको छ । हामीलाई त पाहुनालाई स्वागत गर्नैै भ्याईनभ्याई छ,’ फिस्टेल लज एन्ड रेस्टुरेन्टका सञ्चालक दिलीप गुरुङले भने । गुरुङ छोम्रोङ पर्यटन व्यवसायी समिति सचिवसमेत हुन् ।


कोरोनाले थलिएको पर्यटन पदयात्रामा निस्केका पदयात्री देखेर छिट्टैमाथि उठ्ने गुरुङको विश्वास छ । केही समययता पदयात्रामा नेपाली पर्यटक पनि ठूलो मात्रामा आएका छन् । नेपालीको पदयात्रामा चाखलाग्दो उपस्थिति देखेर व्यवसायी अझ उत्साहित छन् ।
‘२ वर्षसम्म पाहुनाहरु नै आएन । हामी गाउँमै खेतिपाती गरेर बस्यौं । अब पाहुना आउन थालेको छ । अब बिस्तारै पर्यटन माथि उठ्ला,’ अन्नपूर्ण गेस्ट हाउस एन्ड रेष्टुरेन्टका सञ्चालक जगनरास गुरुङ आशावादी सुनिए ।

Advertisement


पदमार्गका अधिकांश व्यवसायीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् । पदमार्गका डेढ सयभन्दा बढी व्यवसायीले वडा र छोम्रोङ पर्यटन व्यवसायी समितिको पहलमा पहिलो मात्राको खोप लगाएका हुन् । पदयात्रामा निस्किनेहरुले समेत खोप लगाईसकेको हुनाले सहज रुपमा पहिले जसरी नै व्यवसायी गर्न पाइनेमा व्यवसायी आशावादी छन् ।


पहिलो लहरको लकडाउन खुकुलो भएसँगै पदमार्ग क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएर होटल खोलेका गरेका थिए । स्वास्थ्य सामग्रीको जोहो गरेर व्यवसाय पुन सञ्चालनमा ल्याए पनि दोस्रो लहर आएपछि व्यवसाय पुन ठप्प हुन पुगेको थियो । ‘व्यवसाय सञ्चालन गर्न भनेर समितिको पहलमा स्वास्थ्य सामग्रीहरु ल्याएका पनि थियौं । प्रत्येक लजमा एक एक वटा टेम्पेचर गन पनि ल्याएका थियौं । मास्क, सेनिटाइजर सबैथोक व्यवस्था गरेका थियौं,’ छोम्रोङ पर्यटन व्यवसायी समिति सचिव दिलीप गुरुङले भने, ‘सबै व्यवस्था गरेर सञ्चालनमात्रै गरेका थियौं । दोस्रो लहर सुरु भइहाल्यो ।’

Advertisement


अहिले पदयात्रामा निस्किने अधिकांश पदयात्री स्वदेशी छन् । भिसा र कोभिड विरुद्धको भ्याक्सिनको झम्झट भएकाले पनि बाह्य मुलुकका पर्यटक आउन नसकेको व्यवसायी बताउँछन् । १२ वर्षदेखि अन्नपूर्ण पदमार्ग क्षेत्रमा पथप्रदर्शकको काम गरिरहेका दीपक भट्ट पर्यटनसम्बद्ध व्यवसायबारे सरकारको स्पष्ट नीति नआउदा पनि बाह्य मुलुकबाट पर्यटक आउन नसकेको गुनासो गर्छन् । पर्यटक आउन चाहे पनि क्वारेन्टिाइनमा बस्नुपर्ने लगायतका झन्झटिलो प्रक्रियाले उनीहरु निरुत्साहित छन् ।


दोस्रो चरणको लकडाउन खुकुलो भएपछि असोज ५ गतेदेखि अन्नपूर्ण पदमार्ग पदयात्रीका लागि खुला भएको हो । असोज पहिलो सातादेखि पदमार्ग खुलेसँगै अन्नपूर्णमा २ हजारभन्दा बढी पर्यटक पुगेको छोम्रोङ पर्यटन चोक पोस्ट तथा इन्फर्मेसन सेन्टरको तथ्यांक छ । चेक पोस्टका इन्चार्ज नेत्र शर्माका अनुसार असोज ५ गते पदयात्रा खुलेपछि २ हजारभन्दा बढी पदयात्री एबिसी उक्लेका छन् । ‘सार्क मुलुक र बाह्य मुलुकका गरी २ सयभन्दा बढी पदयात्री इन भएका छन् । लकडाउनपछि बाह्य मुलुकको तुलनामा नेपाली पदयात्रीको भीडभाड बढेको छ,’ उनले भने ।
लकडाउन अघिको तुलनामा यो संख्या निकै कम हो । यो सिजनमा दैनिक ४ सयभन्दा बढी विदेशी नागरिक भित्रिने गरेको एक्यापको तथ्यांक छ । सन् २०१८ को अक्टोबरमा ४ सय बाह्य मुलुकका पदयात्री एबिसी उक्लिएको शर्माले सुनाए । ‘अहिले बाह्य मुलुकभन्दा स्वदेशी पर्यटक धेरै छन्,’ उनले भने ।

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया