राष्ट्रिय सभामा कांग्रेसकी उम्मेदवार कमला पन्त

समाधान संवाददाता २०७८ पुष १९ गते १६:२३

काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट गोरखाकी कमला पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बन्ने भएका छन् । कमला पन्त कांग्रेस महाधिवेशनमा सहामन्त्रीकी उम्मेदवार थिइन् । तर उनी पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो ।

Advertisement

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गठबन्धन बैठकले कांग्रेसलाई ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लाई ५/५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सीट दिने गरी भागबन्डा लगाइएको हो।

भागबन्डाअनुसार प्रदेश १ मा खाली हुने ३ सीटमा महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ कांग्रेस र अल्पसंख्यकको सीट जसपालाई दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Advertisement

त्यस्तै प्रदेश २ मा महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई भाग लगाइएको उनले बताए। बागमती प्रदेशमा अन्यमा कांग्रेस, महिलामा एकीकृत समाजवादीले एकएक सीट बाँडने भएका छन्। गण्डकी प्रदेशतर्फ महिलामा कांग्रेस, अन्य तथा दलितका लागि माओवादी केन्द्रले सीट पाएको छ।

त्यस्तै लुम्बिनी प्रदेशमा पुरुषतर्फ खुलामा कांग्रेस, महिलामा एकीकृत समाजवादी, दलितमा राष्ट्रिय जनमोर्चालाई एकएक सीट बाँडिएको नेता कार्कीले जानकारी दिए। कर्णाली प्रदेशमा महिला कांग्रेस, अपाङ्ग माओवादी केन्द्र र खुला एकीकृत समाजवादीले पाएका छन्। सुदूरपश्चिममा खुलातर्फ कांग्रेस, दलिततफ माओवादी केन्द्र, महिलातर्फ एकीकृत समाजवादीलाई सीट दिने निर्णय भएको उनले बताए।

तपाईको प्रतिक्रिया